वासिङ्टन, २७ भदौ : मध्यपूर्वमा पुनः चर्किएको द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अमेरिकामा मुद्रास्फीति थप तीव्र भएको छ । यसले आगामी मध्यावधि निर्वाचनअघि अमेरिकी उपभोक्ताको खर्च र जीवनयापनको लागतसम्बन्धी चिन्ता थप बढाएको छ ।
अमेरिकी श्रम विभागका अनुसार अगस्ट महिनामा उपभोक्ता मूल्य सूचकांक अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ४ प्रतिशत बढेको छ । जुलाईमा पनि वार्षिक मुद्रास्फीति ३ दशमलव ४ प्रतिशत नै थियो ।
तर मासिक आधारमा भने मूल्यवृद्धिको गति तीव्र भएको छ । अगस्टमा उपभोक्ता मूल्य ० दशमलव ४ प्रतिशत बढेको छ, जबकि जुलाईमा यो वृद्धि केवल शुन्य दशमलव १ प्रतिशत थियो ।
मध्यपूर्वमा पुनः सुरु भएको हिंसात्मक द्वन्द्वपछि पेट्रोलियम तथा इन्धनको मूल्यमा आएको उछालले समग्र मुद्रास्फीतिमा दबाब थपेको हो ।
कोरोना महामारीपछि मूल्यवृद्धि अत्यधिक बढेको पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि अमेरिकामा महँगी अपेक्षाकृत उच्च स्तरमै कायम छ । नयाँ तथ्यांकले मुद्रास्फीतिसँग जुधिरहेको अमेरिकी केन्द्रीय बैंक माथि ब्याजदरसम्बन्धी दबाब पनि बढाएको छ ।
केन्द्रीय बैंकले आगामी साता आफ्नो प्रमुख ब्याजदर बढाउने निर्णय गरेमा त्यसको असर आगामी महिनाहरूमा घर कर्जा र सवारीसाधन कर्जाको लागतमा पर्न सक्नेछ ।
अमेरिकामा आगामी मध्यावधि निर्वाचन अब करिब सात सातामात्र बाँकी रहँदा महँगी र दैनिक जीवनयापनको लागत मतदाताका प्रमुख चासोमध्ये एक बनेको राससले जनाएको छ । (रासस/एपी)






