भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  ४ घण्टा अगाडि

काठमाडौँ, २५ भदौ : रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बुधबार बिहान आएको भीषण हिमबाढीका कारण पूर्वाधार क्षेत्रमा मात्रै रु एक खर्ब ९० अर्बको क्षति भएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन’ प्रतिवेदनअनुसार बाढीले पारेको क्षतिको पुनःरुत्थानका लागि रु चार खर्ब ७३ अर्ब ५७ करोड लाग्ने अनुमान छ ।

प्रतिवेदनअनुसार ऊर्जा क्षेत्रतर्फ बाढीका कारण कूल ७५९ दशमलप शून्य २५ मेगावाट क्षमताका १३ वटा जलविद्यत् आयेजना प्रभावित भएका छन् । जसमा २४ दशमलव ३६ मेगावाट क्षमताको पाँच वटा सोलार प्लान्टसमेत समावेश छन् । प्रतिवेदनमा बाढीका कारण एउटा सवस्टेसन, तीन वटा ट्रान्समिसन लाइन, एउटा स्विचयार्ड र एउटा वितरण लाइनमा क्षति पुगेको छ । ऊर्जा क्षेत्रमा कूल रु एक खर्ब ५१ अर्ब चार करोड बराबरको क्षति भएको छ । यो क्षेत्रको पुनःरुत्थानका लागि रु तीन खर्ब ९० अर्ब ६२ करोड लाग्ने अनुमान छ ।

घरायसी नवीकरणीय ऊर्जातर्फ पनि ठूलो क्षति पुगेको छ । जसमा २४५० वटा सोलार ‘होमसिस्टम’, २७४० बायोग्यास प्रणाली, १३ वटा संस्थागत सोलार प्रणाली, ९२ किलोवाटको लघुजलविद्युत्, १८५ ‘वाटरमिल्स’ र ७९५ वटा खाना पकाउने चुल्होमा क्षति पुगेको छ । घरायसी नवीकरणीय ऊर्जामा रु ५६ करोडको क्षति भएको छ भने यसको पुनःरुत्थानका लागि रु एक अर्ब ६४ करोड लाग्ने देखिएको छ ।

बाढीका कारण ६९ किलोमिटर सडकमा क्षति पुगेको अनुमान छ । जसमध्ये ५५ किलोमिटरमा पूर्ण रूपमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । साथै पृथ्वीराजमार्गको कृष्णभीर क्षेत्रमा १५० मिटरमा क्षति पुगेको छ । सडक संरचनातर्फ रु २३ अर्ब ४२ करोडको क्षति पुगेको छ । उक्त क्षेत्रको पुनःरुत्थानका लागि रु ५५ अर्ब १८ करोड लाग्ने अनुमान छ ।

बाढीका कारण ३३ वटा मोटरेबल पुल बगेका छन् भने चार वटामा आंशिक क्षति पुगेको छ । त्यस्तै, बाढी प्रभावित क्षेत्रमा रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुगेको छ । तेत्तिसवटा झोलुङ्गे पुलमा पूर्ण क्षति पुगेको छ । पुलमा मात्रै रु ११ अर्ब ३५ करोडको क्षति पुगेको छ भने पुनरुत्थानका लागि रु १८ अर्ब १६ करोड आवश्यक पर्ने देखिएको छ ।

सञ्चार क्षेत्रमा पनि टेलिकमका बिटिएस टावरमा क्षति पुगेको छ । एनसेलमा २७ वटा र नेपाल टेलिकमका ३८ वटा टावर प्रभावित भएका थिए । जसमध्ये अधिकांश सञ्चालनमा आइसकेका छन् । बाढीका कारण १५२ दशमलव तीन किलोमिटर फाइभर केबल र दुई वटा ट्रान्समिसन प्रणाली, एफटिटिएच/आइएसपीमा प्रभाव परेको थियो । यो क्षेत्रमा करिब रु ६३ करोडको क्षति भएको थियो भने पुनःरुत्थानका लागि रु ९४ करोड लाग्ने अनुमान छ ।

त्यसैगरी खानेपानी तथा सरसफाइ क्षेत्रमा रु एक अर्ब ३८ करोड बराबरको क्षति पुगेको छ भने यसको पुनर्निर्माणका लागि रु दुई अर्ब सात करोड लाग्ने अनुमान छ । बाढीका कारण १६ वटा इनार, ९८ वटा इनटेक, १६० वटा ट्याङ्की, ४४३ दशमलव नौ किलोमिटर पाइपलाइन प्रभावित भएका छन् ।

प्रतिवेदनका अनुसार सिँचाइ, नदी संरक्षण क्षेत्रतर्फ चार हजार ९९० मिटर नदी संरक्षण, ७०० हेक्टर सिँचाइ र छ वटा जलसतह मापन केन्द्र प्रभावित भएका छन् । यस क्षेत्रमा करिब रु एक अर्ब ६५ क्षति पुगेको छ भने पुनरुत्थानका लागि रु चार अर्ब ९४ करोड आवश्यक पर्ने अनुमान गरिएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया