अन्तर्राष्ट्रिय मञ्चमा जलवायु मुद्दा प्रभावकारी रूपमा उठाउनुपर्छ : प्रचण्ड

  ३ घण्टा अगाडि

जनकपुरधाम, २५ भदौ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताउनुभएको छ ।

पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुग्नुभएका संयोजक प्रचण्डले बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै जलवायु परिवर्तनका कारण हिमाल पग्लिने विषय वातावरणीय मात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपालले यसलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताउनुभयो ।

“यो विषयमा म दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका बेला थुप्रै अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाए”, संयोजक प्रचण्डले भन्नुभयो, “यतिबेला यस विषयमा अन्तर्राष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्छ ।”

जलवायु परिवर्तनका कारण हिमाल तीव्र गतिमा पग्लिँदै जानु मानव अस्तित्वकै लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्नुहुँदै संयोजक प्रचण्डले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई त्यसको प्रभाव क्रमशः मानव जीवन, कृषि, पानीका स्रोत, जैविक विविधता र समग्र अर्थतन्त्रमा परिरहेको उल्लेख गर्नुभयो ।

भोटेकोशी नदीमा बाढी आएको तत्कालीन समयमा सरकारले अन्तर्राष्ट्रिय समुदाय तथा सम्बन्धित क्षेत्रका विज्ञ र उद्धार टोलीको सहयोग लिएर सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारलाई तीव्रता दिन नसक्नु सरकारको कमजोरी भएको प्रचण्डले बताउनुभयो ।

सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग गर्दै तत्काल खोजी तथा उद्धार गर्न सकेको भए धेरैको ज्यान जोगाउन सकिने अवस्था भए पनि सरकारले त्यो गर्न नसकेको प्रचण्डले गुनासो गर्नुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया