सियोल, २४ भदौ : जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम बौद्धिकता (एआई) र सेमिकन्डक्टरलगायत क्षेत्रमा सहकार्य विस्तार गरी विश्वको प्रमुख आर्थिक तथा रक्षा शक्तिका रूपमा अघि बढ्नुपर्ने बताउनुभएको छ ।
सियोलमा आयोजित २७ औँ विश्व ज्ञान मञ्चमा बोल्दै इसिबाले स्वतन्त्रता, लोकतन्त्र र मानव अधिकारका साझा मूल्यमा आधारित भएर दुवै देशले ‘समानताको साँचो साझेदारी’ निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार दुवै देशको संयुक्त अर्थतन्त्र र रक्षा क्षमता विश्वमा तेस्रो ठूलो बन्न सक्ने छ ।
इतिहासका संवेदनशील विषयमा जापानले आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिँदै उहाँले जोसियनको जापानी विलयबाट उत्पन्न ऐतिहासिक पीडालाई स्वीकार गर्नुपर्ने बताउनुभयो । आफूले २५ वर्षदेखि यासुकुनी तीर्थस्थलको भ्रमण नगरेको उल्लेख गर्दै उहाँले दक्षिण कोरियासँग विश्वास निर्माण गर्न जापानले युद्धकालीन इतिहासप्रति गम्भीर आत्ममन्थन गर्नुपर्ने धारणा राख्नुभयो ।
क्षेत्रीय सुरक्षाका लागि इन्डो-प्यासिफिक क्षेत्रमा विद्यमान गठबन्धनलाई जोड्ने ‘एसियाली नेटो’ को ढाँचा विकास गर्न इसिबाले प्रस्ताव गर्नुभयो । दक्षिण कोरिया, अमेरिका र जापानबिच ताइवान जलघाँटी तथा कोरियाली प्रायद्वीपमा सम्भावित सङ्कटका लागि नियमित र ठोस परामर्श आवश्यक रहेको उहाँले बताउनुभयो ।
दक्षिण कोरियाले आफ्नो रक्षा क्षमता थप आत्मनिर्भर बनाउन सक्ने उल्लेख गर्दै इसिबाले यसबाट अमेरिकामाथिको सुरक्षा भार कम गर्न सहयोग पुग्ने बताउनुभयो । बृहत्तर सुरक्षा सहकार्यका लागि अधिग्रहण तथा क्रस–सर्भिस सम्झौता (एसीएसए) लाई व्यावहारिक सुरुआती आधार बनाउन सकिने उहाँको भनाइ थियो ।
आर्थिक तथा प्राविधिक क्षेत्रमा एआई र सेमिकन्डक्टरमा संयुक्त प्रयास बढाउन तथा जनस्तरको आदानप्रदान विस्तार गर्न पनि उहाँले आग्रह गर्नुभयो । कम जन्मदर, वृद्ध जनसङ्ख्या र राजधानी क्षेत्रमा जनसङ्ख्या तथा आर्थिक गतिविधिको अत्यधिक केन्द्रित हुनेजस्ता साझा चुनौती समाधान गर्न दुवै देशले मिलेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । (रासस/एएनआई)






