काठमाडौँ, २४ भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल सुरु गर्नुभएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्माननीय प्रधानमन्त्री शाहले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहनुभएको छ । प्रधानसेनापति सिग्देलसँगको छलफललगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि आजै छलफल गर्ने कार्यक्रम रहेको राससले जनाएको छ ।






