भोटेकोशी बाढी : १३ हजारभन्दा बढीको उद्धार

  ३ घण्टा अगाडि

काठमाडौँ, २२ भदौ : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीपश्चात् प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ५३३ जना रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा सुरक्षित रूपमा आश्रय लिइरहेका छन् ।

बाढीपछि हालसम्म एक हजार ३५५ जनाको शव फेला परेको छ भने चार हजार ९९६ जना अझै सम्पर्कविहीन रहेका छन् । हालसम्म ९८ वटा शवको सनाखत भई आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ । बाढीपछि घाइते तथा प्रभावित गरी हालसम्म छ हजार ६७२ जनाले उपचार सेवा लिएका प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विभिन्न अस्पतालमा उपचाररत ३२३ मध्ये २२८ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै, नेपाली सेनाबाट तीन हजार ३७९ जना र सशस्त्र प्रहरीबाट दुई हजार ९७० जनाले स्वास्थ्य उपचार सेवा लिएका उहाँले जानकारी दिनुभयो । विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै उहाँहरूको आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको काम अघि बढाइरहेका प्राधिकरणले जनाएको छ ।

भोटेकोशी नदीमा आएको बाढीले एकैपटक ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी निकाय खोजी, उद्धार, उपचार र राहत व्यवस्थापनमा निरन्तर सक्रिय छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धारलाई अझ तीव्र बनाइएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया