जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने

  ४ घण्टा अगाडि

टोकियो, २१ भदौ : जापानको मौसम विज्ञान एजेन्सीले राजधानी टोकियोसहित सात क्षेत्रमा सोमबारसम्म भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ । टाइफुन र मौसमी वर्षा प्रणालीको संयुक्त प्रभावका कारण पूर्वी जापानका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको एजेन्सीले जनाएको छ ।

मौसम एजेन्सीका अनुसार टोकियोसँगै साइतामा, कानागावा, चिबा, शिजुओका, आइची र मीका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

केही घण्टाको अवधिमै अत्यधिक वर्षा गराउन सक्ने रेखीय वर्षा पट्टी (लिनियर रेनब्यान्ड) विकास हुने पूर्वानुमान गरिएको छ । यस्तो वर्षा प्रणालीका कारण छोटो समयमै ठूलो मात्रामा पानी पर्न सक्ने भएकाले स्थानीय बासिन्दालाई मौसमसम्बन्धी चेतावनी र प्रशासनका निर्देशन पालना गर्न आग्रह गरिएको छ ।

पूर्वी जापानका केही क्षेत्रमा पहिरो जाने, होचा भूभाग डुबानमा पर्ने तथा नदीमा पानीको सतह बढ्ने जोखिम रहेको मौसम एजेन्सीले चेतावनी दिएको छ ।
एजेन्सीका अनुसार जापानको दक्षिणमा मौसमी वर्षा प्रणाली लामो समयदेखि सक्रिय रहेको छ । यसैबीच टाइफुन क्रोभान्हबाट आएको तातो तथा आद्र्र हावाले वातावरणलाई थप अस्थिर बनाएको छ ।

मौसमी वर्षा प्रणाली सोमबारतिर उत्तरतर्फ सर्ने अनुमान गरिएको छ । त्यस क्रममा पूर्वी जापानका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा नदीको बहाव बढ्न सक्ने जोखिमप्रति सतर्क रहन भनिएको छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया