युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न पुटिनको निर्देशन

  ३ घण्टा अगाडि

मस्को÷किएभ, २० भदौ : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि आक्रमण नगर्न आदेश दिनुभएको छ । यो कदम अमेरिकी दूत स्टिभ विट्कफ र जारेड कुश्नरसँगको सम्पर्क तयारीसँग जोडिएको क्रेमलिन प्रवक्ता दिमित्रि पेस्कोभले शनिबार बताउनुभयो ।

“उहाँहरूले राष्ट्रपति पुटिनसँग भेट वार्ता गर्नुहुनेछ । सामान्यतया विगतमा यस्ता भेटहरू निकै लामो हुने गरेका छन् । हामी पर्खेर हेरौँ। यसबारे हामी छिट्टै तपाइहरूलाई जानकारी गराउनेछौँ,” पेस्कोभले पत्रकारसँगको कुराकानीमा भन्नुभयो ।

पेस्कोभले समाधान प्रस्तावबारे अनुमान नलगाउन आग्रह गर्दै पुटिन र अमेरिकी वार्ताकारहरूबीचको भेटको परिणाम पर्खन आग्रह गर्नुभयो ।

विट्कफ र कुश्नर शनिबार स्थानीय समयअनुसार दिउँसो १२ः५२ बजे मस्कोको भ्नुकोभो विमानस्थलमा अवतरण गर्नुभएको थियो । उनीहरूलाई विमानस्थलमा रूसका विशेष राष्ट्रपतीय दूत किरिल दिमित्रिएभले स्वागत गर्नुभयो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार विहानै रूसले किएभ र त्यसको दक्षिण–पूर्वी उपनगर बोरिस्पिलका विमानस्थलमा आक्रमण गरेको बताएपछि पेस्कोभको भनाइ आएको हो।

जेलेन्स्कीले युक्रेनले रूसी कदमलाई ध्यानमा राखेको र अर्को साता रूसी हवाई क्षेत्रसम्बन्धी आफ्ना कारबाहीलाई पुनरावलोकन गर्ने बताउनुभयो ।

जेलेन्स्कीले बिहीबार नै ट्रम्पका दूतहरूसँग युक्रेनी राजधानीमा आगामी दिनमा भेट्ने अपेक्षा गरिएको बताउनुभएको थियो । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया