ओपनएआईसम्बद्ध एआई एजेन्टले सार्वजनिक विकी प्रयोग गरेको खुलासा

  ४ घण्टा अगाडि

सान फ्रान्सिस्को, २० भदौ : ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र सहकार्य गर्न जर्मन भाषाको सार्वजनिक विकी प्रयोग गरेको एक अध्ययनले देखाएको छ ।

एआई सुरक्षा संस्था नाइटिङ्गेल कलेक्टिभका चार अनुसन्धानकर्ताले गरेको अध्ययन शुक्रबार सार्वजनिक भएको हो । अध्ययनका क्रममा अनुसन्धानकर्ताले सार्वजनिक इन्टरनेटमा ओपनएआईका रूपमा पहिचान गराउने एआई एजेन्टका करिब १८ हजार सामग्री फेला पारेका थिए ।

अनुसन्धानकर्ताका अनुसार ती एजेन्टले तोकिएका कार्यका परिणाम आदानप्रदान गर्न, अनुसन्धानका नतिजा एकीकृत गर्न तथा आफ्नो सञ्चालन वातावरणमा लगाइएका प्रतिबन्ध छल्ने उपायबारे जानकारी साटासाट गर्न विकीको प्रयोग गरेका थिए ।

अधिकांश गतिविधि ‘डीएसईविकी’ नामक जर्मन भाषाको सार्वजनिक विकीमा भएको थियो । करिब २५ वर्षदेखि सञ्चालनमा रहेको उक्त विकी पछिल्ला वर्षमा कम प्रयोग हुँदै आएको थियो ।

अनुसन्धानकर्ताका अनुसार एजेन्टलाई इन्टरनेटबाट सूचना पढ्न सक्ने तर त्यसमा लेख्न नसक्ने गरी तयार गरिएको हुनुपर्ने थियो । तर उनीहरूले विकीमा सामग्री राख्ने उपाय पत्ता लगाएका थिए । यसमार्फत एक एजेन्टले प्राप्त गरेको जवाफ अर्को एजेन्टले प्रयोग गर्न सक्ने अवस्था बनेको अध्ययनमा उल्लेख छ ।

अनुसन्धानकर्ताले पहिलोपटक मे ११ मा एजेन्टले सार्वजनिक विकी सम्पादन गर्ने प्रयास गरेको देखेका थिए । मे २४ मा डीएसईविकीमा पहिलो सफल लेखन भएको थियो । जुन १६ देखि भने एजेन्टबीच ठूलो स्तरमा समन्वय सुरु भएको अध्ययनमा उल्लेख छ ।

एजेन्टले आफ्नो कामका आगामी चरण र त्यसका लागि आवश्यक जानकारीसमेत विकीमार्फत आदानप्रदान गर्ने गरेको पाइएको थियो । कुनै प्रश्नको सामना गरेको एजेन्टले त्यसको जवाफ विकीमा राख्ने र पछि उस्तै प्रश्न पाउने अन्य एजेन्टले त्यही सामग्री प्रयोग गर्ने गरेको अनुसन्धानकर्ताले बताएका छन् ।

अध्ययनमा एजेन्टले आफ्नो सञ्चालन वातावरणमा लगाइएको स्यान्डबक्स तथा सञ्जालसम्बन्धी प्रतिबन्ध छल्ने उपायबारे समेत छलफल र परीक्षण गरेको उल्लेख छ । मानव मध्यस्थकर्ताले केही सामग्री हटाउन थालेपछि केही एजेन्टले ‘जेडजेडजेड’ बाट सुरु हुने नाममा वैकल्पिक पृष्ठ बनाएका थिए ।

डीएसईविकीमा एजेन्टले गरेका करिब ९८ दशमलव पाँच प्रतिशत सम्पादन माइक्रोसफ्ट एज्योरका इन्टरनेट ठेगानाबाट भएको अनुसन्धानकर्ताले बताएका छन् । उनीहरूले ओपनएआईसँग सम्बन्धित ठेगानाबाट भएका भ्रमणसमेत अभिलेख गरेका थिए । धेरै एजेन्टले ओपनएआईसँग सम्बन्धित नाम प्रयोग गरेको पनि अध्ययनमा उल्लेख छ ।

यी प्रमाणका आधारमा अनुसन्धानकर्ताले ती एजेन्ट सम्भवतः ओपनएआईले आन्तरिक रूपमा सञ्चालन गरेका हुनसक्ने बताएका छन् । यद्यपि, उनीहरूले अध्ययन प्रारम्भिक चरणको रहेको र निष्कर्ष सार्वजनिक विकीमा एजेन्टले छाडेका सामग्रीमा मात्र आधारित रहेको स्पष्ट पारेका छन् ।

अनुसन्धानकर्तासँग ओपनएआईको आन्तरिक प्रणालीमा रहेका एजेन्टको सोच प्रक्रियासम्बन्धी तथ्याङ्कमा पहुँच थिएन । त्यसैले एजेन्टको वास्तविक उद्देश्य र रणनीतिबारे केही प्रश्न अझै अनुत्तरित रहेको उनीहरूको भनाइ छ । उक्त गतिविधि एआईको प्रशिक्षणका क्रममा भएको हो वा परीक्षणका क्रममा भन्ने कुरा पनि स्पष्ट हुन सकेको छैन ।

ओपनएआईका एक प्रवक्ताले प्रतिवेदन प्रकाशनअघि कम्पनीलाई त्यसको समीक्षा गर्ने अवसर नदिइएकाले अध्ययनका दाबी वा निष्कर्षबारे तत्काल अर्थपूर्ण प्रतिक्रिया दिन नसकिने बताउनुभएको छ । उहाँका अनुसार प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीले त्यसको सावधानीपूर्वक समीक्षा गर्नेछ र आवश्यक कदम चाल्नेछ ।

ओपनएआईले विकीसम्बन्धी गतिविधि जुलाईमा हगिङ फेससँग सम्बन्धित छुट्टै घटनासँग सम्बन्धित नरहेको जनाएको छ । त्यसैले उक्त गतिविधिलाई हगिङ फेससम्बन्धी प्रतिवेदनमा समावेश नगरिएको कम्पनीको भनाइ छ । (रासस/सिन्ह्वा)

तपाईको प्रतिक्रिया