ख्वप (भक्तपुर), १९ भदौ : साउन १२ गते गुन्हीपुन्ही (जनैपूर्णिमा)को दिनदेखि सुरु भएको भक्तपुरको गाईजात्रा आज सम्पन्न भएको छ । आठ रात नौ दिन चल्ने यो जात्रा कृष्ण जन्माष्टमीको दिन कृष्णलाई नगर परिक्रमा गराएर सम्पन्न भएको हो ।
जनैपूर्णिमाको भोलिपल्ट गाईजात्राका दिन दिवङ्गत व्यक्तिको सम्झनामा गाईजात्रा निकाल्ने भए पनि अन्य दिनमा भने घिन्ताङघिसी नाच र व्यङ्ग्य प्रस्तुत गर्दै भक्तपुरमा सात दिनसम्म गाईजात्रा मनाउने गरिन्छ ।
गाईजात्रादेखि आजसम्म प्रत्येक दिन अपराह्न भक्तपुरमा घिन्ताङघिसी नाचसँगै हनुमान नाच, माक प्याख नाच, जङ्गली नाच, व्यङ्ग्यात्मक कार्टुन, प्ले कार्ड प्रदर्शन गर्दै नगर परिक्रममा गराइएको थियो । आज भक्तपुरमा परम्परागत पहिरन हाकुपटासी लगाएर लामबद्ध सयौँ महिला र पुरुषले दौरा सुरुवाल लगाएर बाजागाजासहित नारायणलाई बत्ती बालेर नरपरिक्रमा गरिएको थियो ।
श्रीकृष्ण जन्माष्टमी रहेकाले नारायणको पूजा गरी बत्ती बालेर भक्तपुरका बालबालिका एवं युवाहरूले टाउँको, हात र शरीरमा पालाको बत्ती बालेर सूर्यमढीदेखि दत्तात्रय, सुकुलढोका, टौमढी, वंशगोपाल, इनाचो दरबार क्षेत्र हुँदै पुनः सूर्यमढी परिक्रमा गरेको थियो ।
भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले टोलटोलमा भइरहेको सांस्कृतिक प्रतियोगिताको प्रदर्शनी आजदेखि समापन भएको बताउनुभयो । उहाँले प्रतियोगितामा भक्तपुरको टोलटोलबाट सयौँ सांस्कृतिक ऐतिहासिक नाचहरु प्रस्तुत भएको उहाँले बताउनुभयो ।
एकजना जात्राप्रेमी सविना बोहजुले आज अन्तिम दिन भक्तपुरमा घिताङघिसी ल्याउने भएकाले जात्राप्रेमीहरुका बाटोभरि लर्को रहेको बताउनुभयो । आज भक्तपुर नगर पूरै बाजागाजामय, परम्परागत पोसाकमय र घिताङघिसीमय भएको उहाँले सुनाउनुभयो । पाँच १० वर्षको बालबालिकादेखि ७०-८० वर्षका वृद्धवृद्धासम्म सहभागी रहेका राससले जनाएको छ ।






