भोटेकोशी बाढीपीडितका लागि टङ्क सापकोटाको ५१ लाख सहयोग

  ३ घण्टा अगाडि

लिस्बन (पोर्चुगल) १८, भदौ : टङ्क सापकोटाले रु ५१ लाख ११ हजार १५१ आर्थिक सहयोग दाखिला गर्नुभएको छ । सापकोटा पोर्चुगलमा चर्चित नेपाली ‘सेफ’ हुन् ।

रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सापकोटाले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्नुभएको हो ।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले सापकोटाको सहयोगको प्रशंसा गर्दै प्राकृतिक विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारका लागि उक्त सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताउनुभयो ।

“सङ्कटको समयमा मातृभूमि र विपद्पीडित नागरिकप्रति सापकोटाले देखाउनुभएको परोपकारी भावना र मानवीय सहयोगले सामाजिक उत्तरदायित्वको सकारात्मक सन्देश दिएको छ,” राजदूत पौडेलले भन्नुभयो ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पु¥याउने उद्देश्यले आफ्नो परिवारका तर्फबाट उक्त रकम प्रदान गरिएको सापकोटाले बताउनुभयो ।

दाजु लक्ष्मीप्रसाद सापकोटा र श्रीमती सीता सापकोटासँग सल्लाह गरेर परिवारका तर्फबाट विपत्तिमा परेका नागरिकलाई सहयोग गरिएको उहाँले बताउनुभयो ।

“प्राकृतिक विपत्तिमा परेका मातृभूमिका नागरिकको पीडा र दुःखमा थोरै भए पनि राहत पु¥याउनुलाई मैले आफ्नो मानवीय तथा सामाजिक उत्तरदायित्वका रूपमा लिएको छु । हामी संसार बदल्न सक्दैनौँ, तर संसार बदल्न सहयोग गर्न सक्छौँ । विपद्को यो कठिन घडीमा पीडित नागरिकको दुःखमा थोरै भए पनि साथ दिन सक्नु नै हाम्रो लागि ठूलो कुरा हो,” सापकोटाले रासससँग भन्नुभयो ।

विगत ३० वर्षदेखि पोर्चुगलमा बस्दै आउनुभएका बागलुङ, दमेकका सापकोटाले राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ ।

पाककलामा उत्कृष्ट कला–कौशल प्रदर्शन गर्दै आउनुभएका सापकोटाले दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गरिसक्नुभएको छ ।

यसअघि पनि सापकोटाले विभिन्न प्राकृतिक विपत्ति तथा मानवीय सङ्कटका समयमा सहयोग गर्दै आउनुभएको छ । कोरोना महामारीका समयमा उहाँले राजधानी लिस्बनका करिब १० हजार जनालाई निःशुल्क खाना पनि खुवाउनुभएको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया