अमेरिका–भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता

  २ घण्टा अगाडि

वासिङ्टन, १३ भदौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनले भेनेजुएलासँग बृहत् तेल सम्झौता गरेको बताउनुभएको छ । सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाका विशाल अप्रयुक्त तेल भण्डारमा लागत मूल्यमा पहुँच पाउनेछ ।

सामाजिक सञ्जालमार्फत सम्झौताको घोषणा गर्दै ट्रम्पले विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजबीच भएको वार्तापछि सम्झौता भएको बताउनुभयो ।

“संयुक्त राज्य अमेरिकाले भर्खरै भेनेजुएला राष्ट्रसँग विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता गरेको छ”, ट्रम्पले लेख्नुभएको छ ।

रोड्रिगेज नेतृत्वको सरकारले जारी गरेको विज्ञप्तिअनुसार सम्झौतामा ६५ अर्ब ब्यारेल प्रमाणित क्षमता भएका १७ वटा तेल क्षेत्रको विकास समावेश छ । यसबाट भेनेजुएलाको तेल उद्योगमा १०० अर्ब डलरसम्म लगानी भित्र्याउन तथा सरकारलाई २०९ अर्ब डलरभन्दा बढी कर राजस्व प्राप्त हुन सक्ने अनुमान गरिएको छ । रोड्रिगेजले टेलिग्राममा सम्झौताले “राष्ट्रको पुनरुत्थानमा महत्वपूर्ण प्रभाव पार्ने”, बताउनुभयो ।

सम्झौताबारे जानकार एक अमेरिकी अधिकारीका अनुसार अमेरिकाले भेनेजुएलाको एक अज्ञात निजी सञ्चालकसँग मिलेर तेल क्षेत्रको विकास र व्यवस्थापनका लागि नयाँ निजी कम्पनी स्थापना गर्न सक्नेछ । सार्वजनिक रूपमा टिप्पणी गर्ने अधिकार नभएकाले नाम नखुलाउने सर्तमा ती अधिकारीले रोड्रिगेजले उक्त कम्पनीलाई तेल क्षेत्र विकासका लागि १०० वर्षको अधिकार दिएको बताउनुभयो ।

ती अधिकारीका अनुसार नयाँ कम्पनीमा अमेरिकाले प्रभावकारी रूपमा ५५ प्रतिशत उत्पादन हिस्सा पाउनेछ । यसमा स्वामित्वको हिस्सा र लागत मूल्यमा तेल खरिद गर्ने अधिकारसमेत समावेश हुनेछ । उक्त कम्पनी साउदी आरामको पछि प्रमाणित तेल भण्डारको स्वामित्व राख्ने विश्वकै दोस्रो ठूलो कर्पोरेट संस्था बन्न सक्ने उहाँको दाबी छ ।

तेलको मूल्य घटाउन दबाब
ट्रम्पको घोषणापछि अमेरिकामा इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको भए पनि भेनेजुएलाको तेल उत्पादन तत्काल बढ्न नसक्ने विज्ञहरूले बताएका छन् । देशको जीर्ण तेल पूर्वाधारको मर्मत तथा विस्तार गर्न वर्षौं लाग्ने र अर्बौं डलर आवश्यक पर्ने उनीहरूको भनाइ छ ।

अमेरिकामा इन्धनको मूल्य घटाउन ट्रम्पमाथि दबाब बढिरहेका बेला सम्झौता भएको हो । इरानविरुद्ध जारी अमेरिका–इजरायल द्वन्द्वका कारण होर्मुज जलसन्धिबाट हुने खाडी क्षेत्रको तेल ढुवानीमा ठूलो कमी आएको छ । द्वन्द्वअघि विश्वको करिब २० प्रतिशत पेट्रोलियम यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो ।

अमेरिकाले इन्धनको आपूर्ति व्यवस्थापन गर्न रणनीतिक पेट्रोलियम भण्डारसमेत प्रयोग गरेको छ । अगस्तको सुरुवातमा उक्त भण्डार ३० करोड ब्यारेलभन्दा तल झरेको थियो, जुन सन् २०२६ को सुरुआतयता १० करोड ब्यारेलभन्दा बढीको कमी हो ।

एएएका अनुसार शुक्रबार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन करिब चार दशमदव ०९ डलर थियो । गत वर्ष सोही समयमा औसत मूल्य तीन दशमलव २१ डलर रहेको थियो ।

लगानीका चुनौती
भेनेजुएलामा अमेरिकी तेल कम्पनीहरूलाई पुनः लगानीका लागि आकर्षित गर्न भने राजनीतिक अनिश्चितता र दशकौँदेखि कमजोर बनेको पूर्वाधार चुनौती बन्न सक्ने देखिएको छ ।

मादुरोलाई पदच्युत गरेपछि ट्रम्पले ह्वाइट हाउसमा तेल उद्योगका कार्यकारीहरूलाई बोलाएर भेनेजुएलामा पुनः लगानी गर्न आग्रह गर्नुभएको थियो । उनीहरूले त्यहाँको सम्भावनाप्रति चासो देखाए पनि विगतको अनुभवका कारण सावधानी अपनाउनुपर्ने बताएका थिए ।

अमेरिकी सबैभन्दा ठूलो तेल कम्पनी एक्सनमोबिलका प्रमुख कार्यकारी अधिकृत ड्यारेन वुड्सले त्यतिबेला भेनेजुएलालाई लगानी गर्न नसकिने देशका रूपमा हेर्नुभएको थियो ।

ट्रम्पले भने आफ्नो प्रशासनले भेनेजुएलामा स्थिरता ल्याएको दाबी गर्नुभएको छ । उहाँले पूर्वराष्ट्रपति ह्युगो चाभेजको सरकारले दशकौँअघि अमेरिकी तेल कम्पनीहरूको स्वामित्वमा रहेका सयौँ सम्पत्ति राष्ट्रियकरण गरेको भन्दै भेनेजुएलाले अमेरिकी तेल चोरेको आरोप लगाउँदै आउनुभएको छ ।

रोड्रिगेजले सत्ता सम्हालेपछि तेल क्षेत्रलाई निजी लगानीका लागि खुला गर्ने कानुनमा हस्ताक्षर गर्नुभएको थियो । यसले दुई दशकभन्दा लामो समयदेखि देशमा शासन गर्दै आएको समाजवादी आन्दोलनको नीतिमा ठूलो परिवर्तन ल्याएको छ ।

रुबियोले सम्झौताले भेनेजुएलामा अर्बौं डलर निजी लगानी भित्र्याउने र अमेरिकामा ग्यासको मूल्य घटाउने दाबी गर्नुभएको छ ।

अमेरिकी अधिकारीका अनुसार नयाँ कम्पनीबाट खरिद गरिने तेल अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार पुनः भर्न तथा सैन्य प्रयोजनमा प्रयोग गरिनेछ ।

भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डारमध्ये एक रहेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार त्यहाँ करिब ३०३ अर्ब ब्यारेल कच्चा तेलको भण्डार छ, जुन विश्वको कूल आपूर्तिको करिब १७ प्रतिशत हो । तर कमजोर पूर्वाधारका कारण भेनेजुएलाले विश्वको करिब एक प्रतिशत मात्र तेल उत्पादन गर्दै आएको छ ।

मादुरो हाल अमेरिकामा जेलमा हुनुहुन्छ । उहाँले आफूविरुद्धका आरोपमा दोषी नभएको स्वीकार गर्नुभएको छ । (रासस/एपी)

तपाईको प्रतिक्रिया