काठमाडौँ, १३ भदौ : जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा शनिबार अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
“एकदुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्छ । त्यसैले सतर्कता आवश्यक छ,” उहाँले भन्नुभयो ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै तथा मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागका धेरै स्थान तथा अन्य केही हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागका धेरै तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भागका केही स्थानमा पनि वर्षाको सम्भावना छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही स्थानमा भारी तथा एकदुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको राससले जनाएको छ ।






