नर्वेका राजा हेराल्डको निधन

  २ घण्टा अगाडि

ओस्लो, १२ भदौ : नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उहाँको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ ।

शाही दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ६ः३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो । उहाँ अगस्ट १७ देखि हेमोलिटिक एनीमियाको उपचारमा हुनुहुन्थ्यो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि रानी सोन्जा, युवराज हाकोन, युवराज्ञी मेट्टे–मेरिटसहित परिवारका सदस्य अस्पताल पुग्नुभएको थियो । राजाको निधनपछि शाही दरबारमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ ।

राजाको निधनको खबरपछि सर्वसाधारणले दरबारमा फूल चढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उहाँलाई सरल, आत्मीय र सबैलाई समेट्ने राजाका रूपमा स्मरण गरिएको छ ।

राजा हेराल्ड सन् १९९१ मा सिंहासनमा बस्नुभएको थियो । पछिल्ला वर्षमा विभिन्न स्वास्थ्य समस्याका कारण उहाँले पेसमेकर राख्नुभएको थियो र आधिकारिक कार्यक्रमसमेत घटाउनुभएको थियो । यद्यपि संसद्समक्ष जीवनभर सेवा गर्ने शपथ लिएको भन्दै उहाँले पदत्याग गर्न अस्वीकार गर्दै आउनुभएको थियो ।

राजाको स्वास्थ्य अवस्था बिग्रिएपछि प्रधानमन्त्री जोनास गह्र स्टोरले जर्मनीको कार्य भ्रमण रद्द गर्नुभएको थियो । यसैबीच, शाही परिवार पछिल्लो वर्ष स्वास्थ्य समस्या र विभिन्न विवादका कारण चर्चामा रह्यो । रानी सोन्जा पनि मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनुभएको थियो ।

युवराज हाकोनकी पत्नी मेट्टे–मेरिटको जेफ्री एपस्टिनसँगको सम्बन्धसम्बन्धी विवरण सार्वजनिक भएपछि विवाद उत्पन्न भएको थियो । उहाँका छोरा मारियस बोर्ग होइबीलाई बलात्कारलगायत ३२ अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको छ भने उहाँले फैसलाविरुद्ध अपिल गर्नुभएको छ ।

राजा हेराल्डको सरल जीवनशैली र समावेशी भूमिकाका कारण उहाँ नर्वेली जनतामाझ लोकप्रिय रहनुभएको थियो । उहाँको निधनपछि युवराज हाकोनले राजगद्दी सम्हाल्नुभएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया