काठमाडौँ, ११ भदौ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार ४१५ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव रामबहादुर केसीले बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरीका तीन हजार ३१८, नेपाली सेनाका दुई हजार ३५५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार ७४२ जना सुरक्षाकर्मी परिचालन भएको जानकारी दिनुभयो ।
बाढी प्रभावित क्षेत्रमा हालसम्म २३९ वटा हेलिकप्टर उडानमार्फत खोज तथा उद्धार कार्य गरिएको प्राधिकरणले जनाएको छ । त्यसमध्ये नेपाली सेनामार्फत २११ वटा र निजी क्षेत्रका हेलिकप्टरबाट २८ जनाको उद्धार भएको छ ।
प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत व्यवस्थापनको कार्य निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ । बुधबार ८ः४० बजे नेपाल–चीन सीमा क्षेत्र रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठूलो बाढी आएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।
तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको उक्त बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम तथा शङ्कटपूर्ण अवस्था सिर्जना भएको प्राधिकरणले जनाएको छ ।
बाढीका कारण नदी तटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको राससले जनाएको छ ।






