वासिङ्टन, १० भदौ : अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सहयोगी मुलुकका विदेशमन्त्रीहरूलाई वासिङ्टनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको जानकारी दिनुभएको छ । त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाब, नौसैनिक निगरानी तथा हर्मुजको जलघाँटी हुँदै हुने पेट्रोलियम आपूर्तिमा प्रभाव बढाउने रणनीति अघि बढाएको छ ।
‘एक्सियोस’ का अनुसार ट्रम्प प्रशासनले ठूलो सैन्य कारबाहीमा फर्किनुको सट्टा इरानको अर्थतन्त्रलाई कमजोर बनाउने रणनीतिलाई प्राथमिकता दिएको हो । यद्यपि इरानले पहिले आक्रमण गरेमा सैन्य विकल्प खुला राखिएको अमेरिकी अधिकारीहरूले बताएका छन् । वासिङ्टनले इरानको तेल निर्यातमा गिरावट आएको र हर्मुजमार्फत अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गर्ने तेहरानको क्षमता कमजोर भएको दाबी गरेको छ ।
अमेरिकाले इरानसँग व्यापार गर्ने विदेशी मुलुकमाथि समेत प्रतिबन्धात्मक दबाब बढाएको छ । अमेरिकी विदेश मन्त्रालयले इरानले आणविक हतियार प्राप्त गर्न नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको धारणा दोहो-याउँदै इरानी शासनको वित्तीय स्रोत कमजोर पार्ने नीति अघि बढाइएको जनाएको छ । ‘एक्सियोस’ का अनुसार यो नीति नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनसम्म कायम रहन सक्नेछ ।
यसैबीच, इरान र ओमानबीच हर्मुज जलघाँटीमा पारवहन व्यवस्थापनबारे वार्ता भएको छ । दुवै पक्षले अस्थायी नौवहन मार्ग स्थापना गर्ने तथा समुद्री खानी हटाउन संयुक्त प्रयास गर्ने सहमति गरेका छन् । यद्यपि सामान्य व्यावसायिक ढुवानी अझै ठूलो मात्रामा प्रभावित छ । मङ्गलबार ओमाननजिकै एउटा तेल ट्याङ्करमा अज्ञात प्रक्षेप्य प्रहार भएको पनि जनाइएको छ ।
अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता नभए पनि ब्याक च्यानलमार्फत कूटनीतिक प्रयास जारी रहेको बताइएको छ । पाकिस्तानी सेनाप्रमुख असीम मुनीर इरानी नेतृत्वसँग वार्ताका लागि तेहरान पुग्नुभएको छ । यसैबीच वासिङ्टनले मध्यपूर्वका केही कूटनीतिक नियोगमा कर्मचारी पुनः परिचालन गर्न थालेको छ । यसलाई तत्काल ठूलो सैन्य विस्तारको जोखिम कम भएको अमेरिकी आकलनका रूपमा हेरिएको छ । (रासस/एएनआई)






