कञ्चनपुर, ८ भदौ : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले शुक्लाफाँटा आरक्षबाट विस्थापितको समस्या समाधानका लागि छिट्टै आयोग गठन हुने बताउनुभएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयमा शुक्लाफाँटा आरक्षबाट विस्थापितको भेलालाई सम्बोधन गर्दै उहाँले पीडितको मागअनुसार सरकारले आयोग गठन गरी समस्या समाधान गर्ने बताउनुभएको हो । “आरक्ष विस्थापितको समस्या समाधानका लागि तपाईँहरूका मागअनुसार एकडेढ साताभित्रै आयोग गठन हुँदैछ”, मन्त्री रावलले भन्नुभयो, “उक्त आयोगले समस्या समाधानको निकास निकाल्ने छ ।”
समस्या समाधानको प्रक्रिया अघि बढिसकेकाले धैर्य गरेर बस्न आग्रह गर्दै उहाँले अब माग लिएर काठमाडौँ धाउन नपर्ने बताउनुभयो । “सरकार समाधानको बाटोमा अघि बढिसकेको छ, आयोगलाई काम गर्न सहयोग गर्नुहोस्”, उहाँले भन्नुभयो ।
आरक्ष विस्थापितका नाममा थप राजनीति नगर्न आग्रह गर्दै मन्त्री रावलले समस्या समाधानको प्रक्रिया अघि बढिसकेको उल्लेख गर्नुभयो । उहाँले विस्थापितलाई आन्दोलनका कार्यक्रम अन्त्य गरी आयोगलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
विसं २०५८ मा तत्कालीन शुक्लाफाँटा आरक्ष विस्तारका क्रममा विस्थापित भएका करिब दुई हजार आरक्षपीडित विभिन्न स्थानमा कष्टकर जीवन बिताउँदै आएका छन् । पीडितले आफूहरूको उचित व्यवस्थापनको माग गर्दै विभिन्न समयमा आन्दोलन गर्दै आएका छन् ।
त्यसैगरी, मन्त्री रावलले कञ्चनपुरका कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका भूमिहीन सुकुमवासीसँग भेट गरी सरकारले लालपुर्जा वितरण गर्ने भएकाले ढुक्क भएर बस्न आग्रह गर्नुभयो । “तपाईँहरूलाई लालपुर्जा दिने बाटो खुलिसकेको छ, कानुनी सुधार पनि भइसकेको छ”, उहाँले भन्नुभयो, “अब जिल्ला भूमि आयोगले छिटो काम अघि बढाएर तपाईँहरूलाई लालपुर्जा दिनेछ ।”
उहाँले देशभरका भूमिहीन सुकुमवासीको समस्या समाधानका लागि कानुनमा आवश्यक सुधार गर्नुपर्ने बताउनुभयो । हालको कानुनका कारण देखिएका समस्या समाधान गर्न कानुन संशोधन गरी देशभरका सुकुमवासीको समस्या समाधान गर्ने सरकारको नीति रहेको उहाँले उल्लेख गर्नुभयो ।
यस क्रममा मन्त्री रावलले महेन्द्रनगरस्थित निर्माणाधीन मझगाउँ विमानस्थल र दोधारा चाँदनी नगरपालिकास्थित सुक्खा बन्दरगाहको स्थलगत अवलोकन गर्नुभएको राससमा उल्लेख छ ।






