वाइल्डबेरीजपछि ओजोनका लजिस्टिक केन्द्रमा पनि युक्रेनी ड्रोन आक्रमण

  ८ घण्टा अगाडि

लन्डन, ८ भदौ : बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा सोमबार किएभ भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।

भ्रमणका क्रममा उहाँले रुस विरुद्धको युद्धमा युक्रेनलाई बेलायतको निरन्तर समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुहुनेछ । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटका अनुसार बर्नह्यामले युक्रेनलाई सहयोग गर्ने देशको समूह ‘कोएलिसन अफ द विलिङ’ को पहिलो बैठकको किएभमा सहअध्यक्षता गर्नुहुनेछ । बैठकमा केही सहभागी प्रत्यक्ष र केही भिडियोमार्फत जोडिनेछन् ।

भ्रमणअघि बेलायतले युक्रेनमै लामो दूरीका क्षेप्यास्त्र उत्पादन तथा संयोजनमा सहयोग गर्ने घोषणा गरेको छ । बेलायतले एससीएएलपी क्षेप्यास्त्रका आफ्ना कम्पोनेन्ट सम्बन्धी वर्गीकृत जानकारी फ्रान्स र युक्रेनलाई उपलब्ध गराउने सहमति गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । एससीएएलपी बेलायतको स्टर्म स्याडो क्षेप्यास्त्रको फ्रान्सेली संस्करण हो ।

बेलायती प्रधानमन्त्रीले युक्रेनको स्वतन्त्रता दिवसमा बेलायत आवश्यक परेसम्म युक्रेनी जनताको साथमा रहने बताउनुभएको छ । वर्गीकृत जानकारी उपलब्ध गराउने निर्णयले युक्रेनमै क्षेप्यास्त्र संयोजन अघि बढाउन सहयोग पुग्ने र ‘प्रोजेक्ट ब्रेकस्टप’ मार्फत कम लागतमा उन्नत लामो दूरीका हतियार विकास गर्ने बेलायती प्रयासलाई बल पुग्ने बताइएको छ ।

बर्नह्यामको भ्रमण युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लन्डन भ्रमण गरेको केही सातापछि हुन लागेको हो । उक्त भ्रमणका क्रममा बेलायतले ‘स्टोन क्लोक’ नामक नयाँ इलेक्ट्रोनिक जामिङ प्रविधि सम्बन्धी जानकारी युक्रेनसँग साझा गर्ने घोषणा गरेको थियो । ड्रोनमा जडान गर्न सकिने उक्त सैन्य उपकरणले रूसी वायु रक्षा प्रणालीलाई ड्रोन पहिचान तथा लक्षित गर्न कठिन बनाउने बताइएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण सैन्य आक्रमण सुरु गरेयता बेलायत किएभको प्रमुख समर्थक रहँदै आएको छ । बेलायतले युक्रेनलाई हालसम्म करिब २५ अर्ब पाउन्ड सहयोग उपलब्ध गराएको छ । उक्त सहयोगमा करिब १६ अर्ब पाउन्ड सैन्य सहायता रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया