खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु

  २ घण्टा अगाडि

किएभ, २ भदौ : उत्तरपूर्वी युक्रेनको खार्किभ क्षेत्रमा रुसी सेनाले गरेको रकेट हमलामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । युद्ध सुरु भएयताका पछिल्ला महिनामा नागरिक हताहत बढिरहेका बेला भएको यस हमलाको युक्रेनले कडा प्रतिकार गर्ने चेतावनी दिएको छ ।

खार्किभ क्षेत्रका गभर्नर ओलेग सिनेगुबोभका अनुसार रुसी सीमाबाट करिब ४० किलोमिटर टाढा रहेको पेचेनिगी गाउँमा रकेट प्रहार गरिएको थियो । उहाँले सामाजिक सञ्जालमार्फत प्रारम्भिक विवरणअनुसार १० जनाको मृत्यु भएको र १७ जना घाइते भएको जानकारी दिनुभएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले हमला व्यस्त चौबाटोमा भएको बताउनुभएको छ ।

उहाँका अनुसार उक्त क्षेत्रमा हुलाक कार्यालय र पसल रहेका थिए भने चारैतिर आवासीय भवन थिए । युक्रेनी आपतकालीन सेवाले सार्वजनिक गरेका घटना स्थलका तस्बिरमा उद्धारकर्मी भग्नावशेषमा खोज तथा उद्धार कार्यमा खटिएको देखिन्छ । आक्रमणका कारण भवन ध्वस्त भएका छन् भने घटना स्थलमा धुवाँ फैलिएको र केही सवारी साधनमा आगो लागेको देखिएको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रुसी हमलाको जवाफ दिने बताउँदै अन्तर्राष्ट्रिय साझेदार राष्ट्रले पनि रुसमाथि दबाब बढाएर युक्रेनको समर्थनमा थप कदम चाल्नुपर्ने बताउनुभयो । “हामी निश्चित रूपमा यो रुसी आक्रमणको जवाफ दिनेछौँ”, उहाँले सामाजिक सञ्जालमा भन्नुभयो । उहाँले युक्रेनको प्रतिक्रियालाई सहयोगी राष्ट्रले रुसमाथि दबाब र युक्रेनलाई समर्थन गर्ने आफ्ना कदममार्फत थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

खार्किभ क्षेत्रको केही भूभाग रुसी सेनाको नियन्त्रणमा छ । सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेदेखि यो क्षेत्र निरन्तर रुसी आक्रमणको निशानामा पर्दै आएको छ । यसैबिच संयुक्त राष्ट्रसङ्घले रुस-युक्रेन युद्धमा पछिल्ला महिनामा नागरिक हताहतको सङ्ख्या युद्ध सुरु भएयताकै अन्य अवधिको तुलनामा उच्च रहेको जनाएको छ । युद्ध लम्बिँदै जाँदा आवासीय क्षेत्र तथा नागरिक पूर्वाधारमाथिका आक्रमणले सर्वसाधारणको जोखिम थप बढाएको राष्ट्रसङ्घले जनाएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया