उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

  ८ घण्टा अगाडि

धनगढी, ३१ साउन : कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई सदुपयोग गर्दै काठ, फलफूल, जडीबुटी, घाँस तथा बहुउपयोगी प्रजातिका बिरुवा रोप्न थालिएको छ । संरक्षणसँगै वनबाट उपभोक्ताको दैनिक आवश्यकता पूरा गर्ने र भविष्यमा आयआर्जनको आधार बनाउने उद्देश्यले उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता दिन थालिएको हो ।

घोडाघोडी नगरपालिका–८ को जरही सामुदायिक वनमा पनि पछिल्लो समय यस्तै प्रयास भइरहेको छ । कुनै समय गिट्ठा, असारे, रुइनी, भिल्लरलगायतका बुट्यानले ढाकिएको र अतिक्रमणको समस्या रहेको वन क्षेत्रमा अहिले विभिन्न प्रजातिका बिरुवा हुर्किरहेका छन् ।

स्थानीयको सहभागितामा विसं २०५६ मा सामुदायिक वनका रूपमा स्थापित जरहीमा वन संरक्षणसँगै वृक्षरोपणका काम अघि बढाइएको हो । सामुदायिक वन स्थापना हुनुअघि वन क्षेत्रमा अतिक्रमण गरी घरटहरा बनाउने र गाईवस्तु चराउने क्रम रहेको सामुदायिक वनका पूर्वअध्यक्ष वीरबहादुर साउद बताउनुहुन्छ ।

सामुदायिक वन स्थापना भएपछि घेराबार, अतिक्रमण नियन्त्रण तथा संरक्षणका गतिविधि अघि बढे पनि सुरुआती वर्षमा आम्दानी न्यून हुँदा संरक्षणका काम प्रभावकारी रूपमा सञ्चालन गर्न कठिन भएको साउदले बताउनुभयो ।

आर्थिक वर्ष २०७६/७७ मा जरही सामुदायिक वनलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको थियो । सोही अनुसार पहिलो वर्ष वन कटान पनि गरियो तर वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भएपछि व्यवस्थापनको काम प्रभावित भएको सामुदायिक वनका अध्यक्ष कपुर साउद बताउनुहुन्छ ।

कार्ययोजना नहुँदा केही समय वन क्षेत्र अलपत्रजस्तै बने पनि अहिले नयाँ कार्ययोजना निर्माण गरी व्यवस्थापनलाई प्रभावकारी बनाउने तयारी भइरहेको उहाँले बताउनुभयो । यसका लागि डिभिजन वन कार्यालय पहलमानपुरसँग समन्वय भइरहेको उहाँको भनाइ छ ।

जरही सामुदायिक वनले पछिल्लो समय अनावश्यक बुट्यान हटाएर खाली भएका स्थानमा वृक्षरोपणलाई प्राथमिकता दिएको छ । नदीको बगर क्षेत्रमा फैलिएका गिट्ठा, असारे, गुइँठेललगायतका बुट्यान हटाएर वृक्षरोपण गरिएको अध्यक्ष साउदले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्ष २०८०/८१ देखि नियमित रूपमा वृक्षरोपण भइरहेको छ । केही वर्षअघि रोपिएका टिक र मसलाका बिरुवा हुर्किसकेका छन् भने पछिल्लो समय १० बिघाभन्दा बढी क्षेत्रमा श्रीखण्ड, रक्तचन्दन, रुद्राक्ष, शीतलचिनी, दालचिनी, अमला, नेपियर घाँस, कागती, बाँस, बकाइनो, कोइरालोलगायतका प्रजातिका बिरुवा रोपिएका छन् ।

जरहीमा मात्र नभई कैलालीका अन्य सामुदायिक वनमा पनि खाली तथा कम उपयोग भएका क्षेत्रलाई सदुपयोग गर्दै वृक्षरोपण र संरक्षणका गतिविधि अघि बढाइएको छ ।

कैलालीको उदासीपुर सब डिभिजन वन कार्यालयअन्तर्गतका १८ वटा वन क्षेत्रमा पाँच हजारका दरले एक लाख बिरुवा रोपिएको वन अधिकृत मनोज ढकालले जानकारी दिनुभयो । खाली तथा उपयोगविहीन क्षेत्रको सदुपयोग गर्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपिएको उहाँले बताउनुभयो ।

त्यसैगरी, कैलारी गाउँपालिका–७ को बसन्ता सामुदायिक वन, कैलारी–२ को लाललमटिया वन, गौरीगङ्गा नगरपालिकाको पञ्चवटी सामुदायिक वन र कैलारी गाउँपालिकाको धनमेलिया वन गरी करिब २५ हेक्टर क्षेत्रमा बेतबाँसका सात हजार बिरुवा रोपिएको ढकालले जानकारी दिनुभयो । बेतबाँसको वृक्षरोपणबाट वनको हरियाली बढ्नाका साथै स्थानीयस्तरमा उपयोग र आयआर्जनको सम्भावना बढ्ने अपेक्षा गरिएको छ ।

फूलबारी सब डिभिजन वन कार्यालयअन्तर्गतका विभिन्न वन क्षेत्रमा पनि वृक्षरोपणका कार्यक्रम सञ्चालन गरिएको वन कार्यालयले जनाएको छ । काठजन्य प्रजातिसँगै फलफूल, जडीबुटी, घाँस, बाँस र बेतबाँसजस्ता बहुउपयोगी प्रजातिलाई प्राथमिकता दिन थालिएपछि सामुदायिक वन संरक्षणसँगै स्थानीय आवश्यकता र जीविकोपार्जनसँग जोडिन थालेका छन् ।

जरही सामुदायिक वनकी उपभोक्ता सीता चौधरीले वनबाट घाँस काट्न पाउने भएपछि आफूहरूलाई सहज भएको बताउनुभयो । वन क्षेत्रमा रोपिएका फलफूल, जडीबुटी तथा अन्य बहुउपयोगी प्रजातिले भविष्यमा उपभोक्ताको आयआर्जनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्याले जरही सामुदायिक वनले गरेको वृक्षरोपण र संरक्षणको काम उदाहरणीय रहेको बताउनुभयो । प्राविधिक सल्लाह र सहयोगसँगै उपभोक्तामा संरक्षण गर्ने इच्छाशक्ति भए अनावश्यक बुट्यानले ढाकिएको क्षेत्रलाई उपयोगी र हराभरा बनाउन सकिने उहाँको भनाइ छ ।

“अहिले गरिएको वृक्षरोपणले भविष्यमा यो क्षेत्र सबैका लागि अध्ययन गर्न सकिने उदाहरणीय वन बन्न सक्छ,” उहाँले भन्नुभयो, “आगामी दिनमा यसलाई अध्ययन केन्द्रका रूपमा पनि विकास गर्न सकिने सम्भावना छ ।”

नदीको बगरदेखि चुरे क्षेत्रसम्म फैलिएको जरही सामुदायिक वनमा देखिएको परिवर्तनले सामुदायिक सहभागिता र निरन्तर व्यवस्थापनबाट वनको स्वरूप परिवर्तन गर्न सकिने देखाएको छ । कैलालीका अन्य वन क्षेत्रमा समेत खाली तथा कम उपयोग भएका भूभागमा वृक्षरोपण विस्तार भइरहेका बेला संरक्षणसँगै उत्पादनमुखी वन व्यवस्थापनले उपभोक्ताको जीविकोपार्जन र आयआर्जनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया