तेहरान, २८ साउन : इरानले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गर्दै रणनीतिक जलमार्ग अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म पूर्ण रूपमा नखोलिने जनाएको छ । यससँगै महत्त्वपूर्ण समुद्री मार्गलाई लिएर अमेरिका र इरानबीचको दाबी–प्रतिदाबी थप चर्किएको छ ।
पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पिजिएसए) ले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी अधिकारीहरूले हर्मुजको जलघाँटी अवरुद्ध नरहेको भन्दै गरेका दाबीले वास्तविक अवस्था परिवर्तन नगर्ने बताएको छ । संस्थाका अनुसार जलघाँटी अझै अवरुद्ध छ र इरानले राखेका सर्त स्वीकार नभएसम्म त्यसलाई पुनः खोलिने छैन ।
इरानको यस्तो प्रतिक्रिया राष्ट्रपति ट्रम्पले हर्मुजको जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको र त्यसलाई कायम राख्ने बताउनुभएको केही घण्टापछि आएको हो । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा अमेरिकी नौसेनाको उपस्थितिलाई ‘स्टिलको पर्खाल’ को संज्ञा दिँदै इरानले त्यसविरुद्ध केही गर्न नसक्ने दाबी गर्नुभएको थियो ।
ट्रम्पले आफ्नो सन्देशमा अमेरिकी नौसेनाले हर्मुज क्षेत्रमा नाकाबन्दी कायम राखेको उल्लेख गर्दै इरानको सैन्य पूर्वाधारमा गम्भीर क्षति पु-याइएको दाबी गर्नुभएको थियो । उहाँले इरानको आर्थिक अवस्थामाथि समेत टिप्पणी गर्दै उच्च मुद्रास्फीतिको सामना गरिरहेको बताउनुभएको थियो ।
हर्मुजको जलघाँटी विश्वव्यापी ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग हो । विश्वमा हुने पेट्रोलियम व्यापारको करिब २० प्रतिशत यही मार्ग हुँदै हुने भएकाले यहाँ हुने कुनै पनि लामो अवरोध वा तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य, ढुवानी र आपूर्ति व्यवस्थामा प्रत्यक्ष असर पार्न सक्छ ।
जलघाँटीलाई लिएर पछिल्लो तनाव इरानी, इजरायली र अमेरिकी सेनाबीच हप्तौँदेखि जारी सैन्य आदानप्रदानपछि बढेको हो । तेहरानले यसअघि पनि आफूविरुद्ध बाह्य दबाब र सैन्य कारबाही बढेमा समुद्री यातायात सीमित वा अवरुद्ध गर्न सक्ने चेतावनी दिँदै आएको थियो । यसले तनावलाई हर्मुजबाट बाहिर फराकिलो क्षेत्रीय द्वन्द्वमा परिणत हुन सक्ने आशङ्का बढाएको छ ।
अमेरिकाले यसको प्रतिक्रियामा खाडी क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति उल्लेख्य रूपमा बढाएको छ । वासिङ्टनले अन्तर्राष्ट्रिय समुद्री आवागमनको स्वतन्त्रता सुनिश्चित गर्नु आफ्नो प्रमुख सुरक्षा प्राथमिकता भएको बताउँदै आएको छ ।
तर सैन्य तनावसँगै अमेरिका र इरानबीच कूटनीतिक सम्पर्कको प्रयाससमेत जारी रहेको जनाइएको छ । दुवै देशका प्रतिनिधिहरूले हर्मुजको सङ्कट कम गर्ने तथा नियमित व्यापारिक समुद्री यातायात पुनः सञ्चालन गर्ने सम्भावित सर्तबारे अप्रत्यक्ष रूपमा छलफल गरिरहेका छन् ।
यसैबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का नवनियुक्त प्रमुख मोहसेन रेजाईले पनि तेहरानले आफ्ना सबै सर्त पूरा नभएसम्म हर्मुजको जलघाँटी पूर्ण रूपमा नखोल्ने चेतावनी दिनुभएको छ ।
रेजाईले एक्समा प्रकाशित सन्देशमार्फत इरानको माग स्पष्ट गर्दै अमेरिका–इरान युद्ध र नाकाबन्दी अन्त्य हुनुपर्ने, इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा गरिनुपर्ने तथा लेबनान र गाजामा क्षेत्रीय युद्धविराम हुनुपर्ने बताउनुभयो । उहाँले ती सबै सर्त पूरा नभएसम्म जलघाँटी बन्द रहने दाबी गर्नुभएको हो ।
हर्मुजको जलघाँटी यसअघि पनि विभिन्न सैन्य तथा राजनीतिक तनावका कारण विश्वको सबैभन्दा संवेदनशील भूराजनीतिक समुद्री मार्गमध्ये एक बन्दै आएको छ । यहाँ हुने सैन्य तनावले विगतमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढाउनुका साथै विश्वव्यापी आपूर्ति प्रणालीमा चिन्ता उत्पन्न गराउँदै आएको छ ।
पछिल्लो तनावपछि जलक्षेत्रमा नौसैनिक गस्ती बढाइएको छ भने केही व्यापारिक जहाजले आफ्नो मार्ग र सुरक्षा व्यवस्थामा समेत परिवर्तन गरेका छन् । यसैबीच अन्तर्राष्ट्रिय समुदायले सम्बन्धित पक्षलाई संयम अपनाउँदै वार्तामार्फत तनाव कम गर्न आग्रह गरिरहेको छ ।
हाल महत्त्वपूर्ण समुद्री मार्गमा व्यापारिक ढुवानी कडा सुरक्षा निगरानीबीच सञ्चालनमा रहेको बताइएको छ । यद्यपि जलघाँटी आसपासको अवस्था अत्यन्त अस्थिर रहेकाले समुद्री आवागमन कहिलेसम्म नियमित रूपमा सञ्चालन हुन सक्छ भन्नेमा अनिश्चितता कायम छ ।
अमेरिका र इरानबीच जारी अप्रत्यक्ष वार्ताले तनाव घटाएर समुद्री मार्गलाई नियमित रूपमा खुला राख्ने वातावरण बनाउन सक्छ कि सक्दैन भन्ने विषय अहिले कूटनीतिक चासोको केन्द्रमा रहेको छ । (रासस/एएनआई)






