अमेरिकी विदेश मन्त्रालयद्वारा एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

  ५ घण्टा अगाडि

वासिङ्टन, २६ साउन : अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक अभियान अनुरूप राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि विदेशी नागरिकहरूका लागि जारी गरिएका एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द गरेको जनाएको छ ।

विज्ञप्ति जारी गर्दै मन्त्रालयले अमेरिकी भिसा सर्तहरू उल्लङ्घन गर्ने, अपराध गर्ने, अमेरिकी नागरिकहरू विरुद्ध हिंसाको आह्वान गर्ने, अमेरिकीहरूलाई धोका दिने, आप्रवासन प्रणालीको दुरुपयोग गर्ने वा राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गर्ने विदेशी नागरिकहरूलाई लक्षित गरी भिसा रद्द गरेको बताएको छ ।

कानुन प्रवर्तन अधिकारीहरूसँगको अन्तरक्रियामा मन्त्रालयले आक्रमण, मध्यपान वा लागुऔषधको प्रयोग गरी गाडी चलाउनु, चोरी र लागुऔषधसँग सम्बन्धित विभिन्न अपराधहरू लगायतका मुख्य कारणहरूले अधिकांश भिसा रद्द गरिएको बताएको छ ।

अमेरिकी विदेश मन्त्रालयले यसअघि जनवरीमा एक लाखभन्दा बढी भिसा रद्द गरेको घोषणा गरेको थियो । यो गत वर्ष ट्रम्पको ह्वाइट हाउस पुनरागमनपछि ट्रम्प प्रशासनले सुरु गरेको आप्रवासन नियन्त्रण नीतिको कार्यन्वयन भएको जनाइएको छ । (रासस/क्युएनए)

तपाईको प्रतिक्रिया