डेन्यूबमा युद्धपोत फेरि देखिए

  ८ घण्टा अगाडि

प्रहोवो (सर्बिया), २० साउन : युरोपको दोस्रो लामो डेन्यूब नदीमा खडेरीका कारण पानीको सतह ऐतिहासिक रूपमा घटेपछि दोस्रो विश्वयुद्धका बेला डुबाइएका दर्जनौँ जर्मन युद्धपोत फेरि देखिन थालेका छन् । पानीको सतह घट्दै जाँदा नदीमा नौवहन प्रभावित भएको छ भने ऊर्जा उत्पादनदेखि नदी यातायातसम्ममा असर परेको छ ।

सर्बियाको प्रहोवो बन्दरगाह नजिक, सर्बिया र रोमानियाको सीमावर्ती क्षेत्रमा डुबाइएका युद्धपोतका खिया लागेका संरचना नदीमाथि देखिन थालेका छन् । केही जहाजमा नाजी झण्डा फहराइएका भाँचिएका खम्बासमेत अझै देख्न सकिन्छ । तीमध्ये केही युद्धपोतमा अहिले पनि विस्फोटक तथा हतियार रहेको विश्वास गरिएको छ ।

इतिहासकारहरूका अनुसार सन् १९४४ को सेप्टेम्बरमा सोभियत सेनाको अग्रगमन रोक्ने उद्देश्यले नाजी जर्मनीले डेन्यूबको प्रहोवो क्षेत्रनजिक करिब २०० युद्धपोत जानाजानी डुबाएको थियो । यद्यपि केही महिनापछि सन् १९४५ को मेमा नाजी जर्मनीले आत्मसमर्पण गरेको थियो ।

यी पुराना युद्धपोत हटाउने प्रयास विगतदेखि हुँदै आए पनि अधिकांश जहाजमा अझै विस्फोटक सामग्री रहेकाले काम जटिल बनेको छ । कम्युनिस्ट शासनकालमा तत्कालीन युगोस्लाभियाले केही युद्धपोत हटाएको भए पनि धेरै नदीमै बाँकी छन् । अहिले युरोपेली सङ्घ (इयु) को आर्थिक सहयोगमा सर्बियाले नदीलाई सुरक्षित र सहज बनाउने प्रयास अघि बढाइरहेको छ ।

डेन्यूब नदी १० वटा युरोपेली मुलुक हुँदै बग्ने प्रमुख जलमार्ग हो । तर यस वर्षको अत्यधिक गर्मी र खडेरीका कारण पानीको सतह उल्लेखनीय रूपमा घटेपछि नदी यातायातमा कठिनाइ उत्पन्न भएको छ । पानीको कमीले केही विद्युत् उत्पादन केन्द्र सञ्चालनमा समेत असर परेको छ भने मध्य तथा पूर्वी युरोपका केही सरकारले ऊर्जा बचतका उपाय अपनाएका छन् ।

विज्ञहरूले असामान्य गर्मी र खडेरीलाई जलवायु परिवर्तनसहित अन्य वातावरणीय कारणसँग जोड्दै आएका छन् । प्रहोवोका स्थानीय बासिन्दा क्रिस्टा ब्रान्डिकले पानीको सतह अत्यधिक घटेका कारण ठूला जहाजको आवागमन लगभग ठप्प भएको बताउँदै अहिले नदी पार गर्नसमेत कठिनाइ भएको जानकारी दिनुभयो । (रासस/एपी)

तपाईको प्रतिक्रिया