किएभ, २० साउन : युक्रेनमा भएको पछिल्लो घातक रूसी मिसाइल र ड्रोन आक्रमणका कारण कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।
रुसले आक्रमणमा चार वर्षभन्दा बढी ब्यालेस्टिक मिसाइलको प्रयोग बढाएपछि पछिल्लो समयमा किएभले सहयोगीलाई थप अमेरिकामा निर्मित प्याट्रियट इन्टरसेप्टर आपूर्ति गर्न आग्रह गरेको जनाइएको छ । युक्रेनी वायुसेनाले सम्भावित ब्यालेस्टिक मिसाइलको चेतावनी जारी गरेपछि किएभमा विस्फोट भएको एएफपीले जनाएको छ ।
विस्फोटपछि घण्टौँसम्म यस क्षेत्रको हावामा कालो धुवाँको मुस्लो दखिएको रिपोर्ट गरिएको छ । किएभको सैन्य प्रशासनले मिसाइल र ड्रोनका वर्षा आवासीय भवन र धेरै गोदाममा खसेको बताएको छ । रूसले जानाजानी नागरिक तथा नागरिक पूर्वाधारमा आक्रमण गरिरहेको सैन्य प्रशासनले टेलिग्राममार्फत जनाएको छ ।
सैन्य प्रशासनले चार जिल्लामा आगलागी भएपछि राजधानी किएभमा एक महिलाको मृत्यु हुनुका साथै कम्तीमा २४ जना घाइते भएको जनाएको छ । किएभ क्षेत्रमा भएको आक्रमणमा १४ जनाको मृत्यु भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् भने किएभको वरपरका क्षेत्रमा २० जनाभन्दा बढी घाइते भएको उल्लेख गरिएको छ । किएभ क्षेत्रले फेरि सबैभन्दा दुःखद शत्रु आक्रमणको अनुभव गरेको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख तिमुर टाकाचेन्कोले टेलिग्राममार्फत जनाउनुभएको छ ।
यसअघि शनिबार किएभ र यसको उपनगरमा भएको रूसी आक्रमणले १० जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको र युक्रेनी ड्रोनले कृष्ण सागरमा विशाल रूसी कन्टेनर जहाज डुबाएको रिपोर्ट गरिएको थियो । पछिल्लो समयमा युक्रेनले रूसका तेल तथा ग्यास सुविधा लगायत नागरिक पूर्वाधारमा आक्रमण तीव्र पार्दै गर्दा रूसी ड्रोन आक्रमण पनि बढ्दै गएको जनाइएको छ ।
मस्को क्षेत्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएको जनाइएको छ । मस्कोका मेयरले बुधबार देशको हवाई सुरक्षाले रूसी राजधानीतर्फ गइरहेका कम्तीमा १० वटा ड्रोनलाई रोकी र नष्ट गरेको बताउनुभयो । मस्कोको दक्षिणमा रहेको तुला क्षेत्रका गभर्नरले रूसी रक्षा सेनाले रातभर १०७ वटा युक्रेनी ड्रोनहरू नष्ट गरेको बताउनुभयो ।
उहाँले आक्रमणमा दुई अपार्टमेन्ट भवन क्षतिग्रस्त भएको र यस क्षेत्रमा ड्रोन खसेर आगलागी भएको बताउनुभयो । यसैबिच, युक्रेनले खेरसन सहरमा ड्रोनद्वारा एक व्यक्तिलाई पछ्याइ–पछ्याइ आक्रमण गरेको भिडियोमा आक्रोश व्यक्त गर्दै यसलाई नागरिकलाई लक्षित गरी जानाजानी ‘शिकार’ गरेको आरोप लगाएको छ ।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकार पर्यवेक्षकले सन् २०२२ फेब्रुअरीमा रूसले गरेको आक्रमणपछि नागरिक हताहतको बढ्दो सङ्ख्या उच्चस्तरमा पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । युक्रेनका राष्ट्रपति भालोदिमर जेलेन्स्कीले ब्यालेस्टिक मिसाइल इन्टरसेप्टरको अभावले मानव जीवन नष्ट गर्ने त्यस्ता आक्रमण गर्न रूसलाई प्रोत्साहन मिलेको बताउनुभएको छ ।
उहाँले गत मङ्गलबार आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँगको भेटमा आंशिकरूपमा घरेलु रूपमा प्याट्रियट संरक्षण गर्ने हतियार उत्पादन गर्ने इजाजतपत्रका लागि वासिङ्टन सामु अनुरोध गरेको बताउनुभएको थियो । रूसले शनिबारको आक्रमणले सैन्य–औद्योगिक जटिल उद्योगलगायतका केन्द्रमा प्रहार गरेको बताएको छ । (रासस/एएफपी)






