भेरी अस्पतलामा दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन सञ्चालन

  ३ घण्टा अगाडि

नेपालगञ्ज, १८ साउन : भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेशिन आजदेखि सञ्चालनमा आएको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा नवीन दर्नालले मेसिन सञ्चालनमा आएपछि सम्पूर्ण सेवाग्राहीले विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार सिटी स्क्यान सेवा सहज रुपमा अस्पतालबाट प्राप्त गर्न थालेका जानकारी दिनुभयो । उहाँले मेसिन सञ्चालन गर्न करिब एक महिनाको समयावधि लागेको जानकारी दिँदै अब भारतलगायत अन्यत्र क्षेत्रमा बिरामी जाने बाध्यता हट्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “समयमा बिरामीको रोगको पहिचान हुने, उपचारमा सहजता आउने र बिरामीको आर्थिक भारसमेत कम हुने हाम्रो विश्वास छ ।” मेडिकल सुपरिटेण्डेण्ट डा दर्नालले दुई वर्षदेखि सिटी स्क्यान मेसिनको टियुब बिग्रेको र त्यसलाई खरिद गर्न समय लागेको बताउनुभयो । उहाँका अनुसार मेसिन सञ्चालनमा आएपछि आज पहिलो दिन पाँच जनाले सेवा लिएका छन् । अस्पतालले पछिल्ला दिनमा सेवा विस्तार, सेवा व्यवस्थापनमा सुधार, आधुनिक उपकरण सञ्चालन, विशेषज्ञ सेवाको सुदृढीकरण, बिरामीमैत्री वातावरण निर्माण तथा सेवाको गुणस्तर र अभिवृद्धिका लागि निरन्तर प्रयास गरिरहेको उहाँको भनाइ छ ।

भेरी अस्पताल नेपालगन्जमा प्रसूति सेवा लिनेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । अस्पतालले आर्थिक वर्ष २०८२-८३ मा छ हजार ५९७ जनालाई सुत्केरी सेवा प्रदान गरेको छ । आर्थिक वर्ष २०८१-८२ मा पाँच हजार ६०८ जनाले प्रसूति सेवा लिएका थिए । अस्पतालमा चार हजार १४५ जनाले सामान्य प्रसूति सेवा, भ्याकुम-फोर्सेपमार्फत २०५ जनाले र शल्यक्रियामार्फत दुई हजार २४७ जनाले प्रसूति सेवा लिएका मेडिकल सुपरिटेण्डेण्ड डा दर्नालले जानकारी दिनुभयो ।

सरकारको सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत प्रसूति सेवा र शल्यक्रिया निःशुल्क भएका कारण सेवा लिनेको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । त्यहाँ कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिलगायत कार्यक्रम सञ्चालन गर्न लागिएको छ । अस्पतालमा प्रसूति सेवा लिने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया