बीसौँ एसियन खेलकुद : कञ्चनपुरका नौ खेलाडी मैदानमा

  ३ घण्टा अगाडि

महेन्द्रनगर, १७ साउन : जापानमा आयोजना हुने आगामी २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको प्रतिनिधित्व गर्दै व्यक्तिगत र समूह खेलमा गरेर कञ्चनपुरका नौ जना खेलाडी सहभागी हुँदैछन् ।

सुदूरपश्चिममा खेलाडी उत्पादन गर्ने जिल्लाका रूपमा परिचित कञ्चनपुरबाट उत्पादन भएका महिला तथा पुरुष गरी नौ जना खेलाडी र तीन प्रशिक्षक एसियाली खेलकुद प्रतियोगितामा परेका छन् ।

एसियाली खेलकुदमा पुरुष र महिला कबड्डी खेलमा प्रमुख प्रशिक्षकको भूमिकामा विष्णुदत्त भट्टसहित राष्ट्रिय कबड्डी टिम अहिले भारतको हरियाणामा प्रशिक्षणमा छन् । एसियाली खेलको तयारीका लागि हाल अन्तरराष्ट्रिय अभ्यासमा रहेको महिला कबड्डीमा कञ्चनपुरको उपस्थिति बलियो छ । १९औँ एसियाली खेलकुदमा पनि नेपालको महिला कबड्डीले काष्य पदक जितेको थियो ।

कबड्डीका प्रमुख प्रशिक्षक भट्टले भारतको हरियाणामा नेपाली टिम डेढ महिनासम्म प्रशिक्षण गर्ने जानकारी दिनुभयो । “दुवै टिमको पदक ल्याउने सम्भावना उच्च छ”, उहाँले भन्नुभयो, “विगतमा पनि अनुभव लिइसकेका खेलाडी सहभागी छन्, मेहनत पनि गरिरहेका छौँ ।”

बीसऔँ एसियाली खेलकुदमा महिला कबड्डी टिममा कञ्चनपुरका मानमति विष्ट, रबिना चौधरी, जयन्ती बडु र मनिषा जोशी छन् । १९औँ एसियालीमा कञ्चनपुरका छ खेलाडी प्रतिस्पर्धामा सहभागी थिए । तीमध्ये आसन्न एसियालीमा यहाँबाट रविना, जयन्ती र मानमति पुनःछनोट भएर प्रतियोगिताको तयारीमा व्यस्त छन् ।

नेपालको कबड्डीको इतिहासमा कञ्चनपुरसहित सुदूरपश्चिमको योगदान शीर्षस्थानमा रहेको जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगितामा हाम्रो उपस्थिति दशकौँदेखि रहँदै आएको छ ।” उहाँले पछिल्लो समय खेल संरचनाको विकासमा विशेष जोड दिनुका साथै खेलाडीको हकहितका लागि समिति लागिपरेको बताउनुभयो ।

त्यसैगरी, २०औँ एसियालीमा पुरुष कबड्डी टिममा पनि कञ्चनपुरका तीन खेलाडी छनोट भएर प्रशिक्षणमा छन् । पुरुष कबड्डी टिममा प्रकाश गिरी, सुरज बोहरा र अशोक जोशी छन् । आसन्न एसियाली खेलकुदको तयारीअन्तर्गत नेपालको कुस्ती टोली पनि अन्तरराष्ट्रिय अभ्यासका लागि भारतको अयोध्यास्थित नन्दनीनगरमा छ । दुई महिनाको अभ्यासका लागि कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्द छ जना खेलाडीसहित त्यहाँ पुगेका हुन् ।

कुस्ती प्रशिक्षक चन्दले यसपटक एसियाली खेलकुदमा नेपालको कुस्ती टिमको जिम्मेवारी पाएको बताउँदै भन्नुभयो, “छ खेलाडीमध्ये दुई जना कञ्चनपुरको उत्पादन हुन्”, उहाँले भन्नुभयो, “भारतमा अनुभवी खेलाडीहरूसँग हाम्रो टिमले नियमित अभ्यास गर्न पाउँदा आसन्न प्रतियोगितामा पदकको आशा गरेका छौँ ।”

लामो समय कञ्चनपुरको प्रतिनिधित्व गर्दै कुस्तीमा आफ्नो उमेर समूहमा अब्बल बनेका सुरेश चुनारा र शिवाङ्गी दुबे उक्त टोलीमा छन् । “अहिले दुवै जना नेपाली सेनाको त्रिभुवन क्लबसँग आवद्ध छन्”, प्रशिक्षक चन्दले भन्नुभयो, “सबै खेलाडी कडा मेहनतका साथ लगनशील भएर प्रशिक्षणमा जुटेका छन् ।” उहाँका अनुसार सुरेश ७४ किलो तौल समूह र शिवाङ्गी ५७ किलो तौल समूहमा एसियाली खेलकुदमा प्रतिस्प्रर्धा गर्नेछन् । सुरेशको यो तेस्रो एसियाली खेलकुदमा सहभागिता हो भने, शिवाङ्ग पनि एसियालीमा दोस्रो अवसर हो ।

आगामी सेप्टेम्बर १९ तारिखदेखि अक्टोबर ४ तारिखसम्म जापानको नागोया र आइची सहरमा ‘एसियन गेम्स’ आयोजना हुने एसियाली खेलकुदमा नेपालको तर्फबाट २३ वटा खेलको प्रतिनिधित्व गर्दै खेलाडी सहभागी हुनेछन् । कम खेलमा अन्तरराष्ट्रिय अभ्यास खेलाडीले गरिरहेका भएपनि धेरै खेलाडी आन्तरिक तयारी तथा प्रशिक्षणमा छन् ।

त्यसैगरी महिला भलिबल टिमको नेतृत्व गरेर कञ्चनपुर घर भएका भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्ट पनि एसियालीमा सहभागी हुनेछन् । लामो समय कञ्चनपुरमा भलिबल खेलाडी उत्पादनका साथै सुदूरपश्चिममा आधुनिक भलिबल प्रशिक्षण केन्द्र स्थापनामा उहाँको योगदान रहेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया