कोलम्बो, १७ साउन : क्षमताभन्दा बढी कैदीबन्दी रहेको एक जेलमा भएको दङ्गा नियन्त्रण गर्न श्रीलङ्काले आइतबार सयौँ सैनिक र विशेष कमान्डो परिचालन गरेको छ । घटनामा एक कैदीको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
प्रहरी नायब महानिरीक्षक सञ्जिव मेदावाट्टेका अनुसार राजधानी कोलम्बोनजिकै रहेको महारा जेलमा शनिबार कैदीहरूले विभिन्न भवनमा तोडफोड गरेपछि उत्पन्न अवस्था नियन्त्रणमा लिइएको हो ।
“शान्ति–व्यवस्था पुनःस्थापना गर्न र कैदीहरूलाई कोठामा फर्काउन सशस्त्र बल तथा विशेष कार्यदल (एसटीएफ) का कमान्डोको सहयोग लिइएको छ”, मेदावाट्टेले जेलबाहिर पत्रकारहरूसँग भन्नुभयो ।
उहाँका अनुसार दङ्गाका क्रममा कैदीहरूले जेलको भान्साघर, अस्पताल, नवनिर्मित पुनःस्थापना भवन तथा व्यावसायिक तालिम केन्द्रमा क्षति पु¥याएका छन् ।
महारा जेलमा चार हजार १०० कैदीबन्दी राखिएका थिए, जुन जेलको क्षमताभन्दा करिब चार गुणा बढी हो । श्रीलङ्काका अन्य कारागारमा पनि क्षमताभन्दा बढी कैदी राख्ने समस्या रहेको अधिकारीले बताएका छन् ।
सन् २०२० को नोभेम्बरमा पनि यही जेलमा भएको दङ्गामा गोली चल्दा ११ कैदीको मृत्यु भएको थियो भने करिब १२० जना घाइते भएका थिए । पछिल्लो घटना सोही क्षेत्रको अर्को जेलमा भएको दङ्गाको करिब एक महिनापछि भएको हो । उक्त घटनामा १० सुरक्षाकर्मी र २१ कैदीको मृत्यु भएको थियो ।
गत महिना श्रीलङ्काली अधिकारीले प्रयोगविहीन सरकारी भवनलाई जेलमा परिणत गर्ने योजना सार्वजनिक गरेका थिए । देशका जेलमा रहेका कैदीमध्ये तीन चौथाइभन्दा बढी मुद्दाको फैसला पर्खिरहेका पुर्पक्षका बन्दी रहेको र उनीहरूमध्ये अधिकांश लागुऔषधसम्बन्धी कसुरमा थुनामा रहेको बताइएको छ । (रासस/एएफपी)






