वासिङ्टन, १६ साउन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वासिङ्टनको युद्धविरामका सर्तहरू स्वीकार गर्न बाध्य पार्ने प्रयास स्वरुप केही दिनभित्रै इरानको ऊर्जा पूर्वाधारमा हवाई आक्रमण गर्ने योजना बनाइ रहेको जनाइएको छ ।
अमेरिकी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी समाचार पोर्टल एक्सियोसले राष्ट्रपति ट्रम्प अझै अन्तिम निर्णयमा पुगी नसकेको तथा आन्तरिक छलफलहरू इरानी पूर्वाधार र ऊर्जा सुविधाहरूलाई लक्षित आक्रमणहरूमा केन्द्रित रहेको रिपोर्ट गरेको छ । रिपोर्टमा विचाराधीन अभियानको उद्देश्य जारी युद्धविराम वार्ताको बीचमा तेहरानमाथि दबाब बढाउनु रहेको जनाइएको छ ।
एक्सियोसले इजरायल पनि यस अपरेसनमा सामेल हुन सक्ने जनाएको छ । यस्तो संयुक्त कारबाहीले इजरायल विरुद्ध नयाँ इरानी क्षेप्यास्त्र आक्रमणहरू निम्त्याउन सक्ने रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार, अमेरिकी अधिकारीहरूले यस क्षेत्रमा तैनाथ अमेरिकी सेनाहरूमाथि गरिएको आक्रमणपछि हालैका दिनहरूमा इरान ‘धेरै आक्रामक’ भएको आँकलन गरेका छन् ।
यो घटनाक्रम वाल स्ट्रिट जर्नलको एक रिपोर्टसँग मेल खान्छ जसमा राष्ट्रपति ट्रम्पले तेहरानलाई आत्म–समर्पण गर्न दबाब दिने उद्देश्यले नयाँ सैन्य अभियानको तयारीका लागि आदेश दिनुभएको छ ।
सिबीएस न्यूजले रिपोर्ट गरेअनुसार अमेरिका र इजरायलले पेट्रोलियम सुविधा पावर प्लान्टहरूलगायत ऊर्जासम्बन्धी सुविधाहरु विरुद्ध सम्भावित संयुक्त हवाई आक्रमणको लागि समन्वय गरिरहेका छन् । ह्वाइट हाउसका धेरै सहयोगीहरूले मन्त्री परिषद्को बैठकमा आपत्ति जनाएकाले राष्ट्रपति ट्रम्पले अभियानका लागि अन्तिम अनुमति नदिएको नेटवर्कले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले वासिङ्टनमा राष्ट्रपति ट्रम्प र अमेरिकी युद्ध सचिव पीट हेग्सेथसँग छलफल गरेको केही दिनपछि मिडिया रिपोर्टहरू बाहिर आएका छन् ।
राष्ट्रपति ट्रम्पले शनिबार यस विषयमा टिप्पणी गर्दै आसन्न सैन्य कारबाहीको सङ्केत गरेको जनाइएको छ । गत हप्ता होर्मुजको जलमार्गमा व्यापारिक जहाजहरूमा आक्रमण जारी रहेमा पुल वा पावर प्लान्टहरू नष्ट गर्ने भन्दै उहाँले चेतावनी दिनुभएको छ ।
कूटनीतिक वार्ताको साथसाथै इरान, इजरायल र अमेरिका संलग्न सैन्य संलग्नता पाँच महिना भन्दा बढी समय देखि जारी छ । (रासस/एएनआइ)






