सङ्गठनको हितलाई सर्वोपरी मानेर काम गर्न प्रहरी नायब महानिरीक्षकको निर्देशन

  ९ घण्टा अगाडि

विराटनगर, १२ साउन : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक शेखर खनालले प्रहरी सङ्ठनको आवश्यकता र हितलाई सर्वोपरी ठानी काम गर्न निर्देशन दिनुभएको छ ।

आज मात्र जिम्मेवारी सम्हाल्नुभएका प्रमुख खनालले प्रहरी अधिकृत एवं कर्मचारीलाई निर्देशन दिँदै उच्च व्यावसायिकता, अनुशासित र जिम्मेवारीका साथ आफ्नो पदीय दायित्व निर्वाह गर्न आदेश दिनुभएको हो ।

उहाँले सङ्गठनको उद्देश्य, लक्ष्य तथा जिम्मेवारी सबै प्रहरी कर्मचारीको आपसी साथ, सहयोग, समन्वय र प्रतिबद्धताबाट मात्र प्रभावकारी रूपमा हासिल गर्न सकिने उल्लेख गर्दै सङ्गठनप्रति समर्पित, एकताबद्ध र उत्तरदायी भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रहरी नायब महानिरीक्षक खनालले नेपाल प्रहरीले विगतदेखि नै विषम पूर्ण परिस्थितिमा निरन्तर, प्रभावकारी र नागरिकमैत्री सेवा प्रवाह गर्दै आएको स्मरण गराउनुभयो । आगामी दिनमा पनि आइपर्ने चुनौतीहरूको संयमता, धैर्यता, व्यावसायिक दक्षता तथा न्यूनतम क्षतिको सिद्धान्तलाई आत्मसात् गरी सफलतापूर्वक सामना गरी लक्ष हासिल गर्न निर्देशन दिनुभयो ।

उहाँले कार्यसम्पादन सम्झौताअनुसार निर्धारण गरिएका लक्ष्यहरू समयमै सम्पादन गर्न सबै शाखाहरूले योजनाबद्ध, नतिजामुखी, चुस्त, दुरुस्त तथा प्रभावकारी ढङ्गबाट काम गर्नुपर्नेमा विशेष जोड दिँदै सेवा प्रवाहलाई अझ पारदर्शी, उत्तरदायी, गुणस्तरीय तथा नागरिकको विश्वास अभिवृद्धि हुने गरी दैनिक कार्य गर्न निर्देशन दिनुभयो ।

उहाँले प्रहरीको दर्जा मात्र ठूलो कुरा होइन, नजानेको कुरा सिक्न जो बाट पनि सकिन्छ, समय सापेक्ष प्रहरी सङ्गठनको हितका निम्ति हुने राय सल्लाह, सुझाव भए जो कोहीबाट समेत आफूले ग्रहण गर्ने गरेको बताउनुभयो । साथै सोही क्रममा उहाँले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सम्पूर्ण शाखाहरुको निरीक्षण तथा अनुगमनसमेत गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले कोशी प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, अपराध नियन्त्रण, अनुसन्धान, सेवा प्रवाहलगायत विविध विषयमा प्रस्तुतीकरण दिनुभएको थियो ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबी सुनसरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरी, कोशी प्रदेश प्रहरी गण विराटनगर, कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा सुनसरीका प्रहरी प्रमुखलगायतको उपस्थिति रहेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया