लियो क्लब अफ समर्पण एलबीईएफको चौथो वार्षिक साधारण सभा तथा निर्वाचनबाट नयाँ कार्यसमिति चयन

  ६ घण्टा अगाडि

काठमाडौं, २६ फागुन : Leo Club of Samarpan LBEF को लायन वर्ष २०२५/२६ अन्तर्गत चौथो वार्षिक साधारण सभा तथा क्लब निर्वाचन वि.सं. २०८२ चैत २७ गते काठमाडौंको मैतीदेवीस्थित एलबीईएफ कलेजमा सम्पन्न भएको छ। उक्त सभाले आगामी लायन वर्ष २०२६/२७ का लागि नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया समेत सम्पन्न गरेको जनाएको छ।

साधारण सभाबाट अध्यक्ष पदमा लियो पेशल कुमार बास्तोला निर्वाचित भएका छन् भने उपाध्यक्ष पदमा लियो प्रसिद साह निर्वाचित भएका छन्। निर्वाचनमार्फत चयन भएको नयाँ नेतृत्वले क्लबलाई आगामी कार्यकालमा प्रभावकारी ढंगले अगाडि बढाउने अपेक्षा गरिएको छ।

निर्वाचित अध्यक्ष लियो पेशल कुमार बास्तोलाले आफ्नो कार्यसम्पादनलाई व्यवस्थित र परिणाममुखी बनाउन अन्य पदाधिकारीहरू मनोनयन गर्नुभएको छ। सोअनुसार सचिव पदमा लियो अनुराग पोखरेल, कोषाध्यक्ष पदमा लियो मोहित तिमिल्सिना तथा सदस्यता संयोजक (मेम्बरशिप चेयरपर्सन) पदमा लियो दीक्षिता श्रेष्ठलाई मनोनयन गरिएको छ।

नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्न आयोजित कार्यक्रममा क्लबका पदाधिकारीहरू, Lions Club of Kathmandu Samarpan का प्रतिनिधिहरू, Leo District Council 325 I Nepal परिवार तथा विभिन्न लियो क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो।

नवनिर्वाचित तथा मनोनित पदाधिकारीहरूको नेतृत्वमा क्लबले आगामी दिनहरूमा युवाहरूको नेतृत्व विकास, सामुदायिक सेवा तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने विश्वास व्यक्त गरिएको छ। साथै क्लबभित्र समन्वय, सहकार्य र सक्रिय सहभागितालाई प्रवर्द्धन गर्दै संस्थालाई थप सुदृढ बनाउने लक्ष्यसमेत लिइएको छ।

तपाईको प्रतिक्रिया