डडेल्धुरामा रास्वपाका डा. ताराप्रसाद जोशी विजयी

  ४ घण्टा अगाडि

अमरगढी (डडेल्धुरा), २३ फागुन : डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद् यात्रा तय गर्नुभएको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार डा जोशी सात हजार १० मत अन्तरले विजयी हुनुभएको छ । उहाँले १९ हजार १३१ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी कांग्रेस उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गर्नुभएको छ । यहाँ नेपाली कम्युनिष्ट पार्टीका मानसिंह मालले छ हजार ८३४ र नेकपा (एमाले) का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गर्नुभएको छ ।

यस्तो छ जोशीको राजनीतिक यात्रा
जोशी यहाँ कांग्रेसको ३४ वर्षे विरासत भत्काउँदै पहिलोपटक सांसद निर्वाचित हुनुभएको हो । जोशीको जन्म विसं २०२७ चैत ३० गते भएको हो । उहाँ गन्यापधुरा गाउँपालिका–२ का स्थायी बासिन्दा हुनुहुन्छ ।

विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उहाँ लामो समय विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडिँदै आउनुभएको छ । उहाँको राजनीतिक यात्रा विसं २०४५ मा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा सुरु भएको थियो ।

विसं २०४८ मा शिक्षण पेसामा रहँदा उहाँ शिक्षक सङ्गठनमा आबद्ध हुनुभएको थियो । विसं २०५१ मा नेकपा (एमाले) डडेल्धुरा–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बनेर पार्टी राजनीतिमा सक्रिय हुनुभएका जोशी विसं २०५३ मा नेकपा (एमाले) डडेल्धुरा जिल्ला कमिटी सदस्य र विसं २०५४ मा जिल्ला कमिटी सचिव बन्नुभयो ।

विसं २०५५ तिर राजनीतिक जिम्मेवारीसँगै पत्रकारितामा सक्रिय बन्नुभएाक उहाँ कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकसमेत हुनुभएको थियो ।

जोशी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत हुनुभयो । राजनीतिक गतिविधिसँगै उहाँले लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । विशेषगरी २०६२-०६३ को जनआन्दोलनमा उहाँको सक्रिय सहभागिता रहेको बताइन्छ ।

राजनीतिमा भने उहाँले उतार–चढाव भोग्नुभयो । विसं २०७० को संविधानसभा सदस्य निर्वाचनमा उहाँ नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवासँग पराजित हुनुभएको थियो भने २०७४ को प्रदेशसभा निर्वाचनमा कर्णबहादुर मल्लसँग हार बेहोर्नुभयो ।

विसं २०७९ मा मा भने जोशी स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । विसं २०७८ सालतिर एमाले परित्याग गरेका जोशी त्यसपछि स्वतन्त्र रूपमा राजनीतिमा सक्रिय हुनुभएको थियो ।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा होमिनुभएको हो । राजनीतिशास्त्र र अर्थशास्त्रमा नेपालबाट स्नातक गरेका जोशीले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तरराष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) हासिल गर्नुभएको छ । अन्तरराष्ट्रिय सम्बन्ध, विकास नीति, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा उहाको अनुभव छ ।

तपाईको प्रतिक्रिया