काठमाडौँ, २४ माघः अभिनेता सुनिल थापाको आज ६८ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।
चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले अभिनेता थापाको हृदयघातबाट निधन भएको अस्पतालले जानकारी दिएको बताउनुभयो । “बिहान चलचित्रको छायाङ्कनमा जानुपर्ने भएकाले आफूसँगै रहेका सहयोगीलाई चाँडै उठाउन भन्नुभएको रहेछ, ती सहयोगी बिहान उठाउन जाँदा अभिनेता थापालाई अचेत पाएपछि अस्पताल ल्याइएको रहेछ । अस्पतालले प्रारम्भिक जाँच गरेपछि मृत घोषणा गरेको हो”, अध्यक्ष निरौलाले भन्नुभयो । अभिनेता थापाका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । “उहाँको परिवारका सदस्यहरु भारतको मुम्बईमा बस्नुहुन्छ, उहाँहरू आउँदै हुनुहुन्छ”, अध्यक्ष निरौलाले भन्नुभयो ।
लामो समयदेखि नेपाली तथा भारतीय चलचित्रमा अभिनयमा सक्रिय रहनुभएका थापाको असामयिक निधनले सम्पूर्ण नेपाली कला जगत् स्तब्ध बनेको छ ।
चलचित्रमा खलनायक पात्रलाई पनि अभिनेता सरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत् विशेष रूपमा लोकप्रिय हुनुहुन्थ्यो । उहाँ शङ्खमूलस्थित अपार्टमेन्टमा बस्दै आउनुभएको थियो ।
यसैबीच राष्ट्रिय समाचार समिति (रासस)का अनुसार प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताउनुभएको छ ।
अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगत्ले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उहाँका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँका मन जित्न सफल भएका बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै कलाकार थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताउनुभएको छ ।
सन्देशमा उहाँले “चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ”, भन्नुभएको छ । प्रधानमन्त्रीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
अभिनेता थापाको हृदयघातबाट ६८ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।






