मस्को, १० पुस : रूसी आणविक-सक्षम बमवर्षक विमानले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन सागर र बेरेन्ट्स सागरमाथि ‘निर्धारित’उडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । उक्त उडानका क्रममा ‘विदेशी देशका लडाकू जेट’ले रूसी विमानलाई एस्कर्ट गरेको रूसी समाचार एजेन्सीले बिहीबार जानकारी दिएका छन् ।
रक्षा मन्त्रालयका अनुसार टीयू-९५एमएस रणनीतिक बमवर्षक तथा मिसाइल वाहक विमानरूले बेरेन्ट्स र नर्वेजियन सागरको तटस्थ पानीमाथि उडान गरेका हुन् । तर उडानको ठ्याक्कै मिति तथा एस्कर्टका लागि लडाकू जेट तैनाथ गर्ने देशको नाम भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘मार्गका केही चरणमा रूसी लामो दूरीका बमवर्षकलाई विदेशी देशका लडाकू जेटले एस्कर्ट गरेका थिए’ भनिएको छ । साथै यस्ता उडान विभिन्न क्षेत्रमा नियमित रूपमा हुने र अन्तर्राष्ट्रिय कानुन तथा नियमको पूर्ण पालना गर्दै सञ्चालन गरिने पनि स्पष्ट पारिएको छ ।
यसै, महिनाको सुरुमा दक्षिण कोरिया र जापानले आफ्ना क्षेत्र नजिकै रूसी तथा चिनियाँ सैन्य विमान उडान गरेको भन्दै आपत्ति जनाएका थिए । ती उडानपछि दुवै देशले आफ्ना लडाकू जेट आकस्मिक रूपमा परिचालन गर्नु परेको बताएका थिए । जापानको रक्षा मन्त्रालयका अनुसार दुई रूसी टीयू-९५ बमवर्षक विमान जापान सागर हुँदै उड्दै पूर्वी चीन सागरमा दुई चिनियाँ एच-६ बमवर्षकसँग भेट भएका थिए ।
त्यसपछि ती विमानले जापान वरिपरि संयुक्त उडान गरेका थिए । विशेष गरी युरोप र एसिया-प्रशान्त क्षेत्रमा सैन्य गतिविधि बढिरहेका बेला यस्ता गतिविधिलाई क्षेत्रीय सुरक्षा सन्तुलनसँग जोडेर हेरिँदै आएको छ । (रासस/एएफपी)






