चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न

  ४ घण्टा अगाडि

काठमाडौँ, ३ पुस : दक्षिण एसिया नेटवर्क टेलिभिजनको आयोजनामा काठमाडौँमा ट्रान्स–हिमालयन मिडिया कोअर्डिनेसन एन एलायन्स फर पब्लिक बेनिफिटको पहलमा चौथो चीन–नेपाल मिडिया शिखर सम्मेलन सम्पन्न भएको छ । बिहीबार आयोजित उक्त सम्मेलनले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्ध, समसामयिक अन्तरराष्ट्रिय विषयवस्तु तथा मिडियाको भूमिकामाथि व्यापक छलफल गरेको छ ।

सम्मेलनका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल रहनुभएको थियो । कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका काउन्सुलर झु फेङ, नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल, प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलगायत नेपाल र चीनका सरकारी अधिकारी, सञ्चारकर्मी, विज्ञ तथा विद्वानहरूको उल्लेखनीय सहभागिता थियो ।

दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल–चाइना मिडिया फोरमद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा चिनियाँ र नेपाली सञ्चारमाध्यमबीच सहकार्य, अन्तरराष्ट्रिय विषयवस्तुमा सूचना आदानप्रदान, तथ्यपरक पत्रकारिता तथा दुवै देशका मिडियाबीचको सम्बन्ध सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो । साथै सम्मेलनमा दक्षिण एसियाली मिडियाको वर्तमान अवस्था, भविष्यका चुनौती र विकासका सम्भावनाबारे गहन मन्थन भएको थियो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखि असल छिमेकी मुलुकका रूपमा रहँदै आएको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । उहाँले मिडियाले दुई देशबीचको आपसी समझदारी र विश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । मन्त्री खरेलले भन्नुभयो, “नेपाल र चीन ऐतिहासिक रूपमा असल छिमेकी हुन् । पछिल्लो समय मिडियाका माध्यमबाट नेपाल–चीन सम्बन्ध अझ मजबुत र प्रगाढ बन्दै गएको छ ।”

उहाँले सूचना प्रविधिको तीव्र विकाससँगै जिम्मेवार, तथ्यपरक र सकारात्मक पत्रकारिता अझ आवश्यक भएको पनि औँल्याउनुभयो । सोही कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावासका काउन्सुलर झु फेङले नेपाल–चीन सम्बन्ध सुदृढ बनाउन मिडियाले खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । उहाँले मिडियाले दुई देशका जनताको मन जोड्ने पुलको काम गरिरहेको उल्लेख गर्दै नेपाल–चीन मिडियाबीचको सहकार्य आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “मिडियाले दुई देशको मन जोड्ने काम गरेको छ । नेपाल–चीन मिडियाको योगदानप्रति म आभार व्यक्त गर्दछु । नेपाल–चीन मिडियाबीचको सहकार्य आगामी दिनमा अझ विस्तार हुनेछ ।”

सम्मेलनका सहभागीहरूले नेपाल र चीनबीच मिडिया सहकार्यलाई दीर्घकालीन, प्रभावकारी र जनमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । यस्ता मिडिया शिखर सम्मेलनहरूले दुई देशबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया