नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षः सम्झना र समीक्षा

  ३ घण्टा अगाडि

काठमाडौँ, ३ पुस : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चीन नेपालका लागि एक असल छिमेकीमात्र नभई महत्त्वपूर्ण व्यापारिक साझेदार, लगानीकर्ता तथा विश्वसनीय विकास साझेदारका रूपमा उभिएको बताउनुभएको छ ।

‘नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्षः सम्झना र समीक्षा’ कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष दाहालले नेपाल–चीन सम्बन्ध आपसी विश्वास, सम्मान र सहकार्यमा आधारित रहेको उल्लेख गर्नुभयो ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता र अखण्डताप्रति चीनले सदैव समर्थन गर्दै आएको र नेपालले पनि एक चीन नीतिलाई व्यवहारमा दृढतापूर्वक लागू गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “नेपाल र चीनबीच स्थापना भएको कूटनीतिक सम्बन्ध ७० वर्षको यात्रामा आइपुग्दा कुनै पनि ठूला अप्ठ्यारो वा विवादबिना निरन्तर अगाडि बढेको छ । यो हाम्रो आपसी समझदारी, समान हित र पारस्परिक सम्मानको प्रतिफल हो ।”

व्यापार, पूर्वाधार विकास, ऊर्जा, पर्यटन, कृषि, स्वास्थ्य, खेलकुद, शिक्षा तथा जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा चीनको सहयोग र साझेदारीका कारण नेपालले उल्लेखनीय प्रगति हासिल गरेको तथा विशेषगरी सडक, पुल, जलविद्युत्, औद्योगिक विकास तथा पर्यटन पूर्वाधार निर्माणमा चिनियाँ सहयोग महत्त्वपूर्ण रहेको अध्यक्ष दाहालले बताउनुभयो ।

“पछिल्ला वर्षहरूमा विश्वका विभिन्न भागमा देखिएका राजनीतिक तनाव, द्वन्द्व र अस्थिरताबीच मानवताको साझा भाग्य र सुखमय भविष्य निर्माणका लागि नेपाल–चीन सहकार्य अझ सुदृढ हुन आवश्यक छ”, अध्यक्ष दाहालले भन्नुभयो, “नेपाल र चीनबीचको साझेदारी शान्ति, विकास र समृद्धिको साझा लक्ष्यतर्फ केन्द्रित छ ।”

कार्यक्रममा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा रे मिडिया ग्रुपद्वारा प्रकाशित ‘अजम्बरी साइनो’ पुस्तकको पनि लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा नेपाल–चीन सम्बन्धका ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था, कूटनीतिक विकासक्रम तथा भविष्यमा सम्बन्धलाई अझ सुदृढ र प्रभावकारी बनाउने उपायसम्बन्धी सामग्री समेटिएको जनाएको छ ।

कार्यक्रममा कूटनीतिज्ञ, राजनीतिज्ञ, बुद्धिजीवी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो । सहभागीहरूले नेपाल–चीन सम्बन्ध आपसी सम्मान र सहकार्यको उत्कृष्ट उदाहरण रहेको भन्दै आगामी दिनमा यो सम्बन्ध अझ गहिरो र बहुआयामिक बन्दै जाने विश्वास व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया