९ डिसेम्बर मंगलबारका दिन दूतावास प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालबाट आएका गुरु अमर (योगी रमेश सिटौला) ले ध्यान, सिङ्गिङ बाउल र योगका माध्यमबाट सहभागीहरूलाई आरोग्य प्रदान गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय ध्यान दिवसको सन्दर्भमा चीनको राजधानी बेइजिङस्थित नेपाली राजदूतावासले चिनियाँ तथा नेपालीहरूका लागि ‘आत्मा र शरीरको जोड’ विषयक ध्यान तथा योग कक्षा संयोजन गरेको हो ।
सहभागीहरूलाई आध्यात्मिक पर्यटन गराउँदै अमर गुरुले विश्वको अशान्त वातावरणमा शान्ति र ध्यान अत्यावश्यक खुराक बनेको बताउनुभयो।

सहभागीहरूलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत रोशन खनालले यस वर्ष नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव भएको स्मरण गर्दै यद्यपि दुई देशबीचको सम्बन्ध पाँचौं शताब्दीको सुरुतिर भिक्षुहरू र विद्वानहरूको ज्ञान र सिकाइको आदानप्रदानबाट भएको बताउनुभयो।

सन् २०२५ चीनमा नेपाल भ्रमण वर्ष भएको बताउँदै उहाँले नेपालको परिदृश्य र आध्यात्मिक सम्पदा योग र ध्यान गर्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य रहेको सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘शान्त वातावरणमा आयुर्वेद र स्पा उपचारको अनुभव गर्न काठमाडौँ र वरपरका होटल तथा रिसोर्टहरू, आयुर्वेद अस्पतालहरू, योग पदयात्राका अवसरहरू र योग र ध्यानका लागि नेपालमा थुप्रै स्थानहरू छन् । नेपालमा योगले परम्परागत योगाभ्यासीहरूलाई कल्याणको लागि आधुनिक दृष्टिकोण र आध्यात्मिकताले भरिएको समग्र वातावरण दिनसक्नेछ।’

चीनका विभिन्न ठाउँमा योग तथा अध्यात्म सम्बन्धी कक्षा लिन बारम्बार चीन आउजाउ गर्ने गरेका गुरु अमर हाल बेइजिङमा हुनुहुन्छ । उहाँले चिनियाँ दूतावासले आयोजना गरेको कार्यक्रममा पहिलो पटक सहकार्य गरेको बताउँदै नेपाली तथा चिनियाँ साधकहरू, ध्यानीहरू, बुद्धिष्ट तथा विभिन्न पेशा, वर्ग, समुदायका प्रतिनिधिहरूको उपस्थितिले आफू पनि उत्साहित भएको बताउनुभयो।

इतिहासकालदेखि नै नेपाल र चीनबीच मित्रताको सेतु अध्यात्म भएको बताउँदै गुरु अमरले वर्तमान युगमा पनि नेपाल र चीनबीचको सम्बन्धलाई आध्यात्मिक सम्बन्धले अझ मजबुत बनाउनसक्ने बताउनुभयो ।
दूतावासकी इकोनोमिक मिनिष्टर पार्बती अर्यालले प्रत्येक वर्ष नेपालमा यात्रा र बसोबास गर्नका लागि शान्तिप्रेमी, भक्तजन र तीर्थयात्रीहरूले नेपाललाई रोज्न गरेको बताउनुभयो । उहाँले आफ्नो प्रस्तुतीमा युनेस्कोको विश्व सम्पदा स्थलको रूपमा मान्यता दिइएका नेपाली धार्मिक सम्पदाहरूलाई समेट्नुभयो ।

बेइजिङमा उपस्थित नेपाली तथा चिनियाँ संघसंस्थाका प्रतिनिधिहरूले उत्साहका साथ कार्यक्रममा भाग लिएका थिए । गुरु अमरले सहभागीहरूलाई ध्वनिपात्रको माध्यमबाट अभ्यासीहरूलाई स्वास्थ्यलाभ गराउनुभयो । ध्यान र धुनले आफ्नो शरीरमा अद्भूत ऊर्जा पैदा भएको सहभागीहरूको प्रतिक्रिया थियो । ध्वनिपात्रबाट उत्पन्न तरङ्ग आवृत्तिले शारीरिक प्रणाली, ग्रन्थी र सप्तचक्र जागृत भएको भन्दै चिनियाँ सहभागीहरूले मनभित्रका दुःखव्याधिहरूबाट राहतको महसुस भएको प्रतिक्रिया दिए ।

विश्व स्वास्थ्य संगठनले ध्यान र यसको फाइदाहरूबारे जागरूकता जगाउन गत वर्ष सन् २०२४ देखि डिसेम्बर २१ लाई विश्व ध्यान दिवसको रूपमा मनाउन थालेको हो । सोही पूर्वसन्ध्यामा मंगलबार ध्यान कार्यक्रम संयोजन गरिएको दूतावासले जनाएको छ । यस्ता कार्यक्रमले नेपालको आध्यात्मिक पर्यटन र आध्यात्मिक आदानप्रदानमा टेवा पुग्ने नेपाली राजदूतावासको भनाइ छ ।







