काठमाडौँ, १७ मङ्सिरः राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा यही मङ्सिर १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभर २० वटा विपदमा घटनाका जानकारी प्राप्त भए ।
प्राधिकरणका प्राप्त भएका विवरणमध्ये १७ वटा आगलागीका मात्रै घटना थिए । बाँकी रहेका तीन वटा घटनामा मुस्ताङमा लेक लागेको, महोत्तरीमा सर्पदंश र पर्सामा जनावर आक्रमणको रहेका थिए । पर्साको पर्सागढी नगरपालिका ३ झुलिटार बस्ने ५५ बर्षिया एक महिला जंगलमा घास काटन जाँने क्रममा बाघले आक्रमण गरी घाइते हुनुभएको थियो । प्राधिकरणका अनुसार आगलागीका कारण रु ८२ लाख ९१ हजार बराबरको क्षति भएको छ ।
सिरहामा तीन, भोजपुरमा दुई, पाँचथर, मोरङ, उदयपुर, सप्तरी, रौतहट, बारा, पर्सा, ललितपुर,कास्की, कपिलवस्तु, गुल्मी, बाँकेमा आगलागीका घटना भएका थिए ।
अधिकांश आगलागीका घटना असावधानीका कारण भएको देखिन्छ । गाइगोठमा खोले पकाउँदा, सुँगुरलाई चारो तताउँदा, ग्यास चुल्हो बालेर आगो ताप्दा, विद्युत्को तार सर्ट हुँदा, विद्युत् सर्ट भई आगलागी भएको पाइएको छ । यस्तै अचानक विद्युतीय सवारी साधनमा आगलागी भएको घटना पनि प्राधिकरणमा दर्ता भएको छ । प्राधिकरणको विवरण हेर्दा अधिकांश आगजनी असावधानीका काररण भएको देखिन्छ । सामान्य सावधानी अपनाउँदा समेत जनधनको क्षति हुनबाट जोगाउन सकिने भएपनि असावधानी र जनचेतनाको अभाव देखिन्छ । RSS






