काठमाडौं, ३ मङ्सिर : पछिल्लो समय देशभरी साइबर अपराधका घटना तीव्र रूपमा बढ्न थालेपछि सरकारी निकायहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । अनलाइन बैंकिङ, समाजिक सञ्जाल तथा सरकारी सूचना प्रणालीमा केन्द्रित आक्रमण बढेपछि राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC) र नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले साइबर सुरक्षा सम्बन्धी चेतावनी सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय सूचना प्रविधि केन्द्र का अनुसार पछिल्लो केही सातादेखि सरकारी वेबसाइट तथा सर्भरमा बाह्य मुलुकबाट ‘ब्रुट–फोर्स’ र ‘स्क्यानिङ’ आक्रमण बढेको पाइएको छ । हाल सञ्चालनमा रहेका धेरैजसो सरकारी वेबसाइटमा पर्याप्त सुरक्षा मापदण्ड नअपनाइएका कारण जोखिम बढेको केन्द्रको भनाइ छ । प्राधिकरणले पनि मोबाइल बैंकिङ, वालेट तथा सामाजिक सञ्जाल खातामा ‘फिसिङ’ र ‘ह्याकिङ’ प्रयास उल्लेख्य रूपमा बढेको जनाएको छ ।
प्राधिकरणका एक अधिकारीका अनुसार उपभोक्तालाई पठाइने नक्कली लिंक, फेक एप तथा ग्राहक सेवा भनेर पठाइने सन्देशमार्फत खाताको गोप्य जानकारी चोर्न खोज्ने गतिविधि तीव्र भएको छ । “बैंक तथा वालेट प्रयोगकर्ताले OTP, PIN र पासवर्ड कसैलाई नदिनु अत्यावश्यक छ”, उहाँले बताउनुभयो ।
यस्तै, सामाजिक सञ्जालमा नक्कली प्रोफाइल तथा पेज ह्याक हुने घटना बढेपछि विज्ञहरूले दुई-चरण Authentication (2FA) अनिवार्य सक्रिय गर्न सुझाव दिएका छन् । व्यक्तिगत तथा संस्थागत पेजहरू साइबर अपराधीको प्रमुख निशानामा परेको प्राधिकरणले जनाएको छ ।
सरकारी निकायका अनुसार निजी तथा सार्वजनिक दुवै क्षेत्रका संस्था तथा नागरिकले मोबाइल तथा कम्प्युटरमा Antivirus अद्यावधिक राख्न, अनौठा लिंक नखोल्न, अविश्वसनीय एप डाउनलोड नगर्न र अनलाइन कारोबार गर्दा सार्वजनिक WiFi प्रयोग नगर्न अनुरोध गरिएको छ । सन्दिग्ध गतिविधि देखिएमा तत्काल साइबर ब्युरो, नेपाल प्रहरीमा उजुरी दिन सकिने व्यवस्था छ ।
साइबर सुरक्षालाई सबै निकायले प्राथमिकताका साथ लिनुपर्ने भन्दै दुवै संस्थाले जारी गरेको चेतावनीमा अनलाइन गतिविधि सुरक्षित नहुँदा बैंकिङ, सञ्चार सेवा तथा सरकारी प्रणाली नै प्रभावित हुन सक्ने उल्लेख गरिएको छ । बढ्दो जोखिमलाई मध्यनजर गर्दै तत्काल सुरक्षा नीति कडाइ गर्ने तथा नियमित प्रणाली परीक्षण गर्न सुझाव दिइएको छ ।






