काठमाडौँ, २० कात्तिक : कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क ताए योङ्गले बिहीबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ ।
भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, पर्यटन सहकार्य, श्रम तथा रोजगार, पूर्वाधार विकास, ऊर्जा, लगानी तथा जनस्तरको सम्बन्ध लगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो ।
कार्यवाहक राष्ट्रपति यादवले हालै सम्पन्न ‘जेनजी आन्दोलन’ को पृष्ठभूमिमा नेपालमा नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै लोकतान्त्रिक यात्राप्रति नेपालको प्रतिबद्धता दोहोराउनु भएको छ । उहाँले आगामी २०८२ फागुन २१ (५ मार्च २०२६) मा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार रहेको बताउनुभयो ।
उहाँले नेपाल–कोरिया सम्बन्धको ५०औं वार्षिकोत्सव सफलतापूर्वक मनाइएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध मैत्रीपूर्ण, आपसी सम्मान र समझदारीमा आधारित रहेको बताउनुभयो ।
कोरियाली सहयोगले नेपालको सामाजिक–आर्थिक विकासमा महत्वपूर्ण योगदान पुराएको भन्दै उहाँले आगामी दिनमा सहकार्यलाई अझ गहन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यवाहक राष्ट्रपति यादवले कोरियाली सरकारप्रति इपीएस कार्यक्रममार्फत नेपाली युवालाई रोजगारीको अवसर उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै कोरियासँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकता दिँदै आएको स्पष्ट पार्नुभयो ।
उहाँले कोरियाली पर्यटकको नेपालप्रतिको आकर्षण, विशेषतः पदयात्रा र पर्वतारोहण जस्ता क्षेत्रहरूमा, उल्लेखनीय रहेको बताउँदै धार्मिक र सांस्कृतिक समानताले दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको धारणा व्यक्त गर्नुभयो ।
राजदूत पार्क ताए योङ्गले नेपालप्रति कोरियाली सरकारको सद्भाव, सहयोग र मित्रता निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले ‘जेनजी’ को माग बमोजिम बनेको नेपाल सरकारलाई कोरियाको समर्थन रहेको उल्लेख गर्दै अगामी चुनावका लागि सहयोग र शुभकामना व्यक्त गर्नुभयो ।
‘विगत ३० वर्षदेखि कोरियाले नेपालको शिक्षा, कृषि, आईटीको क्षेत्रमा सहयोग गर्दै आएको छ’ राजदूत योङ्गले भन्नुभयो, ‘‘रोजगारको सिलसिलामा कोरिया जाने नेपालीको सङ्ख्या बढाउन आफ्नो मुलुकको तयार छ।’’
उहाँले धेरै कोरियाली कम्पनीहरु नेपाल आउन ईच्छुक रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई अझ सशक्त बनाउने दिशामा कोरियाली पक्षबाट आवश्यक सहयोग जारी रहने बताउनुभयो ।





