राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान (फोटो फिचर)

  १३ घण्टा अगाडि

 काठमाडौं,१७ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने  ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुन उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । 

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणममा सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति पौडेललाई बिदाइ गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च पदस्थ सरकारी पदाधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरू पुग्नुभएको थियो । 

सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण कार्यक्रमलाई स्वकृत गर्ने निर्णय गरेको थियो ।

राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुने कार्यसुची रहेको छ  । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।

संयुक्त राष्ट्रसङ्घको निर्णयअनुसार यो दोस्रो सम्मेलन ३० वर्षपछि हुन लागेको हो । यसअघि पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक कतारले सम्मेलन आयोजना गरेको हो । 

१२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलमा उहाँका धर्मपत्नी सविता पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी हुनुहुन्छ । राष्ट्रपति पौडेल भ्रमण पूरा गरी कात्तिक २० गते स्वदेश फर्कनुटहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया