हिमपात भएसँगै अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो

  १५ घण्टा अगाडि

म्याग्दी, ११ कात्तिक : अहिले निकै चलेको अन्नपूर्ण आधार शिविर आज भएको हिमपातका कारण रोकिएको छ ।

उच्च हिमाली भेगमा हल्ला वर्षा सहितको हिमपात हुनथालेपछि म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको पदयात्रा पूर्णरूपमा रोकिएको हो । 

वर्षा र हिमपात भइरहेकाले सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर पदयात्रामा पूर्णरूपमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । 

उहाँका अनुसार अन्नपूर्ण गाउँपालिका-४, नारच्याङ स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर,मौरिस हर्जोग पदमार्ग र पञ्चकुण्ड तालको भ्रमणमा रोक लगाइएको हो । 

उहाँले भन्नुभयो, ‘‘पदयात्रामा रहेका पर्यटकहरूलाई सहजीकरणको निम्ति नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र स्थानीय उद्दारकर्मी इन्द्रसिंह शेरचन थकाली सहितको टोली अन्नपूर्ण गाउँपालिकासँग समन्वय गरी त्यस तर्फ परिचालन गरेका छौं ।’’ 

पदयात्रामा भइरहेका पर्यटकलाई फर्काउन र पदमार्गमा अलपत्र परेकालाई उद्दार गर्न उद्दार टोली परिचालन गरेको उहाँले बताउनुभयो । आवश्यक सहयोग तथा सूचना लागि प्रहरी कन्ट्रोल नम्बर १०० तथा नजिकको प्रहरी कार्यालय र अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधिसँग सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।  

मौरिस हर्जोग पदमार्ग र आधार शिविरमा हिजो रातिदेखि हल्ला वर्षा र हिमपात भइरहेकाले पदयात्रा हुमखोलादेखि रोकिएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तथा हुमखोला स्थित होटलका सञ्चालक तेज गुरुङले जानकारी दिनुभयो । 

अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर पुनले वर्षा र हिमपातको हुने पूर्व जानकारी पाएलगत्तै  यातायात व्यवस्थापन गरेर मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविरमा पुगेका पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा झारिएको जानकारी दिनुभयो । 

वर्षा नरोकिँदा सम्म पदयात्रामा नजान उहाँले अनुरोध गर्नुभयो । पर्यटन आगमन वृद्धि भएसँगै उत्साहित भएका होटल व्यावसायीहरु भने बेमौसमी वर्षा  भएपछि निरास बनेका छन् ।  

तपाईको प्रतिक्रिया