काठमाडौँ, १० कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले मास्केलाई आफ्नो निवास बालुवाटारमै आमन्त्रण गरी पछ्यौरा पहिराएर सम्मान गर्नुभएको हो । उहाँहरूबीच केहीबेर भलाकुसारी पनि भएको थियो ।
“तपाईँले निःस्वार्थ रूपमा लामो समयदेखि सामाजिक काम गर्दै आउनुभएको भन्ने थाहा पाएको थिएँ । एकपटक भेट्ने इच्छा थियो, आज पूरा भयो । सरकारका तर्फबाट धेरै केही गर्न नसके पनि भेटेर सम्मान प्रकट गरौँ भनेर यो कार्यक्रम गरिएको हो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “यहाँलाई सम्मान गर्न पाउँदा हामी आफू पनि सम्मानित भएको महसुस भएको छ । यहाँको निःस्वार्थ भावनाबाट समाजमा सत्कार्यका लागि अरूलाई पनि प्रेरणा मिलिरहेको हामीले ठानेका छौँ ।”
काठमाडौँको ताहाचल निवासी मास्के विगत २७ वर्षदेखि दिदीबहिनी नभएका र भएर पनि भाइटीकाका दिन भेट्न नभएका दाजुभाइहरूको निधार खाली नहोस् भनेर टीका लगाइदिएका कारण परिचित हुनुहुन्छ ।
उहाँले वीर अस्पतालमा बेवारिसे तथा विपन्न बिरामी र तिनका कुरुवाका लागि निःशुल्क खानपिनको व्यवस्था गरिदिएर पनि समाजमा योगदान गर्नुभएको थियो । त्यस्तै काष्ठमण्डपमा सामूहिक व्रतबन्धको व्यवस्थापन पनि उहाँले गर्दै आउनुभएको छ । यी सबै काम उहाँले आफ्नै निजी खर्चमा गर्दै आएको पनि प्रधानमन्त्रीसमक्ष जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।
“मैले कसैसँग केही अपेक्षा राखेर यी काम गर्दिनँ”, ८२ वर्षीया मास्केले भन्नुभयो, “जे सक्छु, आफ्नै खर्चमा गर्छु, अहिले छोरा कमाउने भएपछि सोचेको काम गर्न थप सजिलो भएको छ ।” मास्केले सरकारबाट पनि कुनै अपेक्षा नराखेको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, “मलाई केही चाहिएको छैन । हामीले आ–आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ । एकले अर्कालाई सघाउनुपर्छ । सबैले अरूको सेवा गरून् । सेवाको भावना राखेर काम गरून् । सरकारसँग हामीले अपेक्षा राख्ने होइन, सरकारलाई हामीले सघाउनुपर्छ । अनि सरकारबाट देशको कल्याण हुन सक्छ ।”
प्रधानमन्त्री कार्की देशकै पहिलो महिला प्रधानमन्त्री बन्नुभएको सुनेकै दिनदेखि निकै खुसी र भरोसा जागेको पनि मास्केले बताउनुभयो ।
“सर्वोच्च अदालतको प्रधानन्यायाधीश बन्नुभयो, त्यहाँ साहसिक काम गर्नुभयो”, मास्केले भन्नुभयो, “यस्तो मान्छे देशको प्रधानमन्त्री हुँदा राम्रो हुन्थ्यो भन्ने लागेको थियो । आज त्यो दिन देख्न पाइयो । एकदम खुसी र भरोसा लागेको छ । पहिलाजस्तै नडराइकन काम गर्नुहोला ।”
अफ्ठ्यारो परिस्थितिमा देश सम्हाल्न आउनुभएको भन्दै प्रधानमन्त्री कार्कीप्रति मास्केले कृतज्ञता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा गौतम, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।
रासस





