अस्ट्रेलिया र भारतबीच इन्डो–प्यासिफिक क्षेत्रमा स्थिरता कायम राख्ने उद्देश्यले बिहीबार नयाँ द्विपक्षीय सुरक्षा सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा दुवै देशका रक्षामन्त्रीले हस्ताक्षर गर्नुभएको हो ।
अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेस र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भएको सम्झौतालाई अस्ट्रेलियाले ‘इन्डो–प्यासिफिक स्थिरतालाई मजबुत बनाउने ऐतिहासिक कदम’ भनेर व्याख्या गरेको छ । सिंह सन् २०१३ पछि अस्ट्रेलिया भ्रमण गर्ने पहिलो भारतीय रक्षामन्त्री हुनुहुन्छ ।
मार्लेसको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारत र अस्ट्रेलिया शीर्ष–स्तरीय सुरक्षा साझेदार हुन् र हाम्रो रक्षा सहकार्यले इन्डो–प्यासिफिक क्षेत्रको स्थिरतामा व्यावहारिक प्रभाव पार्दछ ।”
उक्त सम्झौताअनुसार दुवै देशका सेनाबीच संयुक्त कर्मचारी वार्ता गर्ने स्थायी संयन्त्र स्थापना हुनेछ, जसले पनडुब्बी उद्धारमा सहयोग पुर्याउनेछ । हस्ताक्षर समारोहअघि मन्त्री मार्लेसले भन्नुभयो, “आजको यो सम्झौता हाम्रो रक्षा साझेदारीमा उल्लेखनीय वृद्धि हो, जसले दुवै राष्ट्रको साझा सुरक्षा लक्ष्य र भविष्यप्रतिको प्रतिबद्धता झल्काउँछ ।”
हालै जुलाईमा भारतले पहिलो पटक अस्ट्रेलियामा आयोजित द्विवार्षिक तालिस्मन सेबर बहुराष्ट्रिय सैन्य अभ्यासमा भाग लिएपछि दुवै देशबीचको रक्षा सम्बन्ध अझ प्रगाढ बनेको थियो । तालिस्मन सेबर सन् २००५ मा संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाबीचको संयुक्त अभ्यासका रूपमा सुरु भएको हो । यस वर्ष उक्त अभ्यासमा १९ देशका करिब ३५ हजार सैनिक सहभागी भएका थिए ।
भारत र अस्ट्रेलिया संयुक्त राज्य अमेरिका र जापानसँग मिलेर ‘क्वाड’ नामक रणनीतिक समूहको हिस्सा हुन् । गत जुलाईमा वासिङ्टनमा बसेको क्वाडका विदेशमन्त्रीहरूको बैठकले इन्डो–प्यासिफिक क्षेत्रमा समुद्री सुरक्षामा सहकार्य विस्तार गर्ने सहमति जनाएको थियो ।
अस्ट्रेलियन स्ट्रेटेजिक पोलिसी इन्स्टिच्युटकी वरिष्ठ फेलो राजी राजगोपालनका अनुसार मन्त्री सिंहको यो भ्रमण ‘प्रतीकात्मक र व्यावहारिक रूपमा अत्यन्त महत्त्वपूर्ण’ छ ।
“भारतीय रक्षामन्त्री १२ वर्षपछि अस्ट्रेलिया आउनुभएको हो, तर यसबीचमा मन्त्री मार्लेसले भारतमा उच्चस्तरीय बैठकका लागि धेरैपटक भ्रमण गरिसक्नुभएको छ”, राजगोपालनले भन्नुभयो, “भारतले इन्डो–प्यासिफिक क्षेत्रमा चीन र अमेरिकाबीचको रणनीतिक प्रतिस्पर्धामा सन्तुलन कायम गर्न यस्तो द्विपक्षीय सम्बन्धलाई प्रयोग गरिरहेको छ । चीन भारतको प्रमुख सुरक्षा चुनौती भएकोले, भारत व्यावहारिक रूपमा अमेरिकासँग मिलेर चीन समस्या व्यवस्थापन गर्न चाहन्छ ।”
यसैबीच, अस्ट्रेलियाले हालै दक्षिण प्रशान्तका छिमेकी राष्ट्रहरूसँग पनि सुरक्षा सहकार्य विस्तार गरेको छ । सोमबार मात्र अस्ट्रेलियाले पपुवा न्युगिनीसँग रक्षा सन्धिमा हस्ताक्षर गरेको थियो, जसले दुवै राष्ट्रका सुरक्षात्मक संरचनाहरूलाई एकीकृत गर्नेछ ।
सन् १९५१ मा संयुक्त राज्य अमेरिका र न्युजिल्यान्डसँग गरिएको एन्जस सन्धिपछि यो अस्ट्रेलियाको पहिलो गठबन्धन–स्तरको सुरक्षा सम्झौता हो ।
रासस