कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु

  १८ घण्टा अगाडि

त्रिशूली (नुवाकोट), २३ असोज : हालै परेको अविरल वर्षाका कारण नुवाकोटको कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ ।

वर्षाले जिल्लाभरका किसानले ठूलो नोक्सान ब्यहोर्नु परेको गुनासो आएसँगै स्थानीय तहबाट क्षतिको विवरण लिन सुरु गरिएको हो । त्यसका लागि प्रत्येक स्थानीय तहको वडा कार्यालयमार्फत किसानलाई कृषि बालीमा पुगेको क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको छ ।

बाढी, पहिरो र डुबानले कृषि बालीमा ठूलो क्षति पुगेको जनाउँदै जिल्लाका विभिन्न स्थानीय तहका कृषि शाखाले वडा कार्यालयमार्फत बाली क्षतिको विवरण लिन थालेको हो । जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख केशव खनालले नुवाकोटमा रहेका बाह्रवटै पालिकाले बर्सातका कारण पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरेका बताउनुभयो । यथार्थ विवरण प्राप्त भएमा क्षति ब्यहोरेका किसानलाई राहत दिनका लागि बजेटको स्रोत नभए पनि कुनै विशेष कार्यक्रममार्फत विभिन्न निकायबीच समन्वय गरी आवश्यक पहल गरिने उहाँको भनाइ छ ।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले किसानले आफ्नो बालीमा पुगेको क्षतिको विवरण, बालीको प्रकार, क्षेत्रफल, अनुमानित नोक्सानी र क्षतिको कारण उल्लेख गरी सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार बालीमा क्षति पुगेका सबै किसानलाई समयमै वडा कार्यालयमा सम्पर्क गर्न आग्रहसहितको सूचना जारी गरिएको छ । “वर्षाका कारण किसानले खेतबारीमा लगाएका धान, कोदो, तरकारी, फलफूललगायत बालीमा ठूलो क्षति पु¥याएको छ । यसबाट किसानले ठूलो नोक्सान ब्यहोरेका छन् । क्षतिको यथार्थ विवरण प्राप्त भएपछि कृषकलाई राहत, क्षतिपूर्ति, अनुदान तथा पुन : लगानी गर्न सक्ने कार्यक्रम सञ्चालन गर्नेछौँ”, नगरप्रमुख श्रेष्ठले भन्नुभयो ।
रासस

तपाईको प्रतिक्रिया