चिनियाँ प्रधानमन्त्री ली किआङको उत्तर कोरिया भ्रमण : सन् २०१९ पछि पहिलो उच्चस्तरीय यात्रा

  ४ घण्टा अगाडि

चिनियाँ प्रधानमन्त्री ली किआङ आगामी बिहीबारदेखि शनिबारसम्म उत्तर कोरियाको भ्रमण गर्दै हुनुहुन्छ । यो सन् २०१९ पछि कुनै चिनियाँ नेताद्वारा हुने पहिलो उच्चस्तरीय भ्रमण हो ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री लीले उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ८०औँ वार्षिकोत्सव समारोहमा भाग लिन सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुनेछ । चीन र उत्तर कोरिया बीचको यो भेटलाई दुवै देशबीचको ‘परम्परागत मित्रता र घनिष्ठ सहयोगको निरन्तरता’ का रूपमा हेरिएको छ ।

चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख सहयोगी र आर्थिक सहारा रहँदै आएको छ । तर हालका वर्षहरूमा उत्तर कोरियाली नेता किम जोङ उनले रुससँग सम्बन्ध सुदृढ गर्दै मस्कोलाई युक्रेन युद्धमा सहयोगका सङ्केत देखाउनुभएको छ । उत्तर कोरियाको सरकारी एजेन्सी केसिएनएका अनुसार रुसले यस वार्षिकोत्सव समारोहमा पूर्वराष्ट्रपति दिमित्री मेदभेदेवलाई पठाउँदैछ ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा चीन र उत्तर कोरियाको सम्बन्धलाई ‘अटल रणनीतिक नीति अन्तर्गत कायम, सुदृढ र विकास गर्नेतर्फ केन्द्रित’ रहेको उल्लेख गरिएको छ ।

ली किआङ चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो स्थायी समितिका सात शीर्ष नेतामध्ये एक हुनुहुन्छ । उहाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रपति सी जिनपिङपछि दोस्रो उच्च पदस्थ नेता मानिनुहुन्छ । ७२ वर्षीय राष्ट्रपति सीले आफ्नो यात्रा तालिका सीमित गर्नुभएकाले हालका महिनाहरूमा उहाँले चीनको तर्फबाट विदेशी भ्रमणहरूमा सक्रिय प्रतिनिधित्व गर्नुभएको छ ।

सी जिनपिङको उत्तर कोरियाको अन्तिम भ्रमण सन् २०१९ मा कोभिड–१९ महामारी अघि भएको थियो । यसपटक चीनका साथै भियतनाम र लाओसका शीर्ष नेताहरू पनि समारोहमा सहभागी हुने भएका छन् ।

भियतनामका कम्युनिष्ट पार्टी महासचिव तथा राष्ट्रप्रमुख टो लामले पनि उत्तर कोरियाको वार्षिकोत्सव समारोहमा भाग लिन यात्रा गर्ने घोषणा गर्नुभएको छ । सन् २००७ पछि कुनै भियतनामी नेताको यो पहिलो उत्तर कोरिया भ्रमण हुनेछ । त्यस्तै, लाओसका राष्ट्रपति तथा पार्टी महासचिव थोङ्लोन सिसोलिथ पनि कार्यक्रममा सहभागी हुनुहुनेछ ।

गत वर्षदेखि चीन र उत्तर कोरियाबीचको उच्चस्तरीय सम्पर्क पुनः तीव्र बनेको छ । पोलिटब्युरो स्थायी समितिका अर्का सदस्य झाओ लेजीले यसै वर्षको अप्रिलमा प्योङयाङ भ्रमण गरी नेता किम जोङ उनसँग भेट गर्नुभएको थियो । त्यसपछि गत महिना किम जोङ उनले बेइजिङमा आयोजित चिनियाँ सैन्य परेडमा भाग लिनुहुँदा राष्ट्रपति भ्लादिमिर पुटिनलगायत अन्य नेताहरूसँग पनि भेटघाट गर्नुभएको थियो ।

यस भ्रमणमार्फत चीनले उत्तर कोरियासँगको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ गर्दै क्षेत्रीय कूटनीतिमा आफ्नो प्रभाव पुनः बलियो बनाउन खोजेको विश्लेषकहरूको धारणा छ ।
रासस

तपाईको प्रतिक्रिया