नयाँदिल्ली, २० असोज : पूर्वी भारतीय राज्य पश्चिम बङ्गालमा निरन्तरको वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
पश्चिम बङ्गालको राजधानी कोलकाताबाट करिब ६२६ किलोमिटर उत्तरमा रहेको दार्जिलिङ सहरमा आइतबार पहिरो जाँदा घरहरू बगाएको थियो भने सडकहरू काटान हुनुका साथै गाउँहरू तहस नहस भएको जनाइएको छ ।
प्रकोपले व्यापक विनाश गर्नुका साथै हिमालयको फेदमा रहेको बस्तीका सयौं बासिन्दाका साथै पर्यटकहरू प्रभावित भएको जनाइएको छ । प्रकोपका कारण सुचना तथा सञ्चार सञ्जालहरु पनि बन्द भएको अधिकारीहरूले जनाएका छन् ।
अधिकारीहरुका अनुसार दार्जिलिङमा आइतबार भारी वर्षा हुँदा मिरिक र सुखिया पोखरीसहित धेरै क्षेत्रमा पहिरो गएपछि प्रहरी तथा विपद् व्यवस्थापन अधिकारीहरूले उद्धार अभियान सुरु गरेका थिए ।
पहिरोले सिक्किमलाई जोड्ने सडक र दार्जिलिङ र सिलिगुडीलाई जोड्ने सडकसहित प्रमुख मार्गहरूमा सडक अवरोध निम्त्याएको छ । अधिकारीहरूले कुनै पनि अप्रिय घटना हुन नदिन टाइगर हिल र रक गार्डेनसहित दार्जिलिङका पर्यटकीय स्थलहरू बन्द गरेका छन् ।
प्रभावित क्षेत्रका बासिन्दा तथा पर्यटकहरूलाई सावधान रहन र सडक तथा मौसमको अवस्थाबारे जानकार रहन आग्रह गरिएको छ ।
पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले आइतबार साँझ आपतकालीन बैठक बोलाइ सोमबार प्रभावित क्षेत्रहरूको भ्रमण गर्ने घोषणा गर्नु भएको छ । “अवस्था गम्भीर रहेको उल्लेख गर्दै भुटानमा भएको निरन्तर वर्षाका कारण उत्तर बङ्गालमा पानी भरिएको जनाइएको छ ।
प्राकृतिक प्रकोपहरू नियन्त्रण भन्दा बाहिर भएको बताउदै बनर्जीले १२ घण्टामा ३०० मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरिएको र बर्षाले कम्तिमा सातवटा स्थानमा पहिरो र बाढी निम्त्यायोएको जनाएका छन् ।
भारी वर्षाले उत्तर बङ्गालका अन्य क्षेत्रहरू जस्तै जलपाईगुडी, सिलिगुडी र कुचबिहारलाई पनि असर गर्दा धेरै क्षेत्रहरूमा जलमग्न भएको छ । टेलिभिजन तस्बिरहरूमा नदीहरू भरिएको, क्षतिग्रस्त पुलहरू र बगाएका सडकहरू देखाइएको छ ।
भारतीय मौसम विभागले सोमबार सम्म दार्जिलिङ र कालिम्पोङसहित उप–हिमालयी पश्चिम बङ्गालमा भारी वर्षाको चेतावनी जारी गरेको छ । कुचबिहार र जलपाईगुडीका लागि रातो चेतावनी र दार्जिलिङ जिल्लाका लागि सुन्तला चेतावनी जारी गरिएको छ । (रासस/सिन्ह्वा)