गाजा युद्धको तत्काल अन्त्य गर्न बन्धक परिवारको आग्रह

  ७ घण्टा अगाडि

गाजा १८ असोज : गाजामा बन्दी बनाइएका इजरायली बन्धकहरूका परिवारहरूले गाजा युद्ध तुरुन्तै अन्त्य गर्न “आवश्यक“ भएको शनिबार बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न युद्धविराम योजनासहित आह्वान गरे पनि इजरायलले यस क्षेत्रमा आक्रमण गरिरहेको छ ।

हमासले सबै बन्धकहरूलाई रिहा गर्न र ट्रम्पको शान्ति योजनाको विवरणमा वार्ता सुरु गर्न सहमत भएपछि ट्रम्पले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा बमबारी रोक्न आग्रह गर्नु भएको थियो ।

हमासले गाजामा बन्दी बनाइएका बन्धकहरूलाई रिहा गर्न तयार रहेको तर ट्रम्पको योजनाको विवरण र प्यालेस्टिनी क्षेत्रको भविष्यका बारेमा वार्ता गर्न चाहेको बताएको छ ।

राष्ट्रपति ट्रम्पको प्रस्तावमा समावेश गरिएको आदान–प्रदान सूत्रअनुसार सबै बन्धकहरू–जीवित र अवशेषहरूको रिहाइका लागि आफ्नो स्वीकृति घोषणा गरेको हमासले शुक्रबार एक विज्ञप्ति मार्फत जनाएको हो ।

ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै “हमासले जारी गरेको वक्तव्यको आधारमा, विश्वास व्यक्त गर्दै स्थायी शान्तिका लागि हमास तयार रहेको बताउनु भएको छ ।

हमासका एकजना वरिष्ठ अधिकारीले शनिबार “सबै मुद्दाहरूलाई अन्तिम रूप दिन तुरुन्तै वार्ता सुरु गर्न तयार रहेको“ बताउनु भएको छ ।

ट्रम्पको प्रस्तावित योजनाले शत्रुता रोक्न, ७२ घण्टा भित्र बन्धक मुक्त गर्न, गाजाबाट क्रमिक रूपमा इजरायली फिर्ती र हमासको निशस्त्रीकरणको आह्वान गर्दछ ।

“बन्धकहरूलाई गम्भीर र अपरिवर्तनीय क्षति हुन नदिन राष्ट्रपति ट्रम्पको युद्ध तुरुन्तै रोक्नको माग आवश्यक रहेको होस्टेज एण्ड मिसिङ फेमिलीज फोरमले एक विज्ञप्ति मार्फत जनाएको छ ।

“हामी प्रधानमन्त्री (बेन्जामिन) नेतान्याहुलाई हाम्रा सबै बन्धकहरूलाई घर ल्याउन तुरुन्तै प्रभावकारी र द्रुत वार्ता सुरु गर्न आह्वान गर्दछौँ।”

भारी बमबारी
ट्रम्पको अपिलको बावजुद, गाजाको नागरिक सुरक्षा एजेन्सीले इजरायलले गाजा शहरमा निरन्तर आक्रमण गरेको तथा हताहत भएको अस्पतालहरूले रिपोर्ट गरेका छन् ।

राष्ट्रपति ट्रम्पले बम विस्फोट रोक्न आह्वान गरे तापनि इजरायली सेनाले गाजा सहर र अन्य क्षेत्रमा दर्जनौँ हवाई आक्रमण र गोलाबारी गरेको नागरिक सुरक्षा प्रवक्ता महमुद बासललाई उदृत गर्दै एएफपीले जनाएको छ ।

अमेरिकी नेताले प्यालेस्टिनी समूहलाई आइतबार सम्म आफ्नो योजना स्वीकार गर्न वा सामना गर्ने समय दिनु भएको थियो ।

इजरायली प्रधानमन्त्री बेनजमिन नेतान्याहुको कार्यालयले ट्रम्पको आह्वानको जवाफमा इजरायलले “सबै बन्धकहरूको रिहाइका लागि ट्रम्प योजनाको पहिलो चरणको तत्काल कार्यान्वयनका लागि तयारी गरिरहेको“ बताएको थियो ।
हमासले योजनामा सहमति जनाउदै यस क्षेत्रको भविष्यका बारेमा प्यालेस्टिनी छलफलहरूमा “सहभागी हुने र जिम्मेवारीपूर्वक योगदान गर्ने बताएको छ । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया