चीनको अन्तर्राष्ट्रिय विभागको प्रमुखमा लिउ हाइक्सिङ, लिउ जियानचाओ बेपत्ता

  ५ घण्टा अगाडि

ताइपेई, १५ असोज : चीनले आफ्नो अन्तर्राष्ट्रिय विभागको शीर्ष पदमा युरोपेली मामिलामा दीर्घ अनुभव भएका कूटनीतिज्ञ लिउ हाइक्सिङलाई नियुक्त गरेको छ । सरकारी मिडियाले बुधबार यसबारे जानकारी दिएको हो ।

उहाँले लिउ जियानचाओलाई प्रतिस्थापन गर्नुभएको हो । जियानचाओ अनुशासनात्मक कारणले हिरासतमा रहेको आशङ्काबीच गत जुलाईदेखि सार्वजनिक रूपमा देखिनुभएको छैन ।

अन्तर्राष्ट्रिय विभाग चीनको कम्युनिस्ट पार्टीअन्तर्गतको कूटनीतिक शाखा हो, जसले अन्य देशका राजनीतिक दलहरूसँग सम्बन्ध विस्तार गर्ने जिम्मेवारी लिन्छ ।

६२ वर्षीय लिउ हाइक्सिङले आफ्नो कूटनीतिक जीवनको ठूलो हिस्सा युरोपमा विभिन्न पदमा बिताउनुभएको छ । सन् २००९ देखि २०१२ सम्म उहाँ फ्रान्सस्थित चिनियाँ दूतावासमा मन्त्री हुनुहुन्थ्यो । त्यहीँ उहाँले सार्वजनिक प्रशासन पनि अध्ययन गर्नुभएको थियो ।

बेइजिङ फर्केपछि उहाँले सहायक विदेशमन्त्री र युरोपेली मामिला विभागका महानिर्देशकको रूपमा काम गर्नुभयो । उहाँको पछिल्लो पद भने कम्युनिस्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राष्ट्रिय सुरक्षा आयोगको कार्यकारी उप–निर्देशकको थियो ।

यस नियुक्तिपछि उहाँका पूर्ववर्ती लिउ जियानचाओको अवस्थाबारे प्रश्नहरू उठेका छन् । असम्बन्धित रहेका जियानचाओले सन् २०२२ जुनदेखि विभागको नेतृत्व गर्दै आउनुभएको थियो र महामारीपछिको कूटनीतिक अभियानअन्तर्गत व्यापक विदेश भ्रमण गर्नुभएको थियो । उहाँ सम्भावित नयाँ विदेशमन्त्रीका रूपमा समेत चर्चामा हुनुहुन्थ्यो तर, जुलाई अन्त्यदेखि उहाँ सार्वजनिक रूपमा देखिनुभएको छैन ।

वाल स्ट्रिट जर्नलका अनुसार उहाँ अनुशासनात्मक अनुसन्धानका क्रममा हिरासतमा पर्नुभएको छ । यसअघि पनि तत्कालीन विदेशमन्त्री किन ग्याङ सन् २०२३ जुनमा रहस्यमय रूपमा बेपत्ता हुनुभएको थियो । उहाँपछि वाङ यीले पुनः पदभार सम्हाल्नुभएको थियो । पार्टीको आन्तरिक अनुसन्धानले किन ग्याङ विवाहेतर सम्बन्धमा संलग्न भएको पत्ता लगाएको बताइएको छ ।

राष्ट्रपति सी जिनपिङले सन् २०१२ मा सत्तामा आएपछि अनुशासनात्मक शुद्धीकरण अभियानलाई कडा रूपमा अघि बढाउनुभएको छ ।

अहिलेसम्म ६० लाखभन्दा बढी अधिकारीलाई भ्रष्टाचार वा दुव्र्यवहारका लागि कारबाही गरिएको छ । तर, आलोचकहरूले यसलाई सी जिनपिङले आफ्ना विरोधीहरू हटाउन र शक्ति सुदृढ गर्न प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । (रासस/एपी)

तपाईको प्रतिक्रिया