तलेजुमा एकान्तकुमारी एवं गणकुमारीको पूजा

  असोज १५, २०८२

भक्तपुर, १५ असोज : यहाँको प्रसिद्ध तलेजु मन्दिरमा जीवितदेवी मानिने एकान्तकुमारीसहित ११ गण कुमारीको पूजा गरिएको छ ।

हरेक वर्ष आश्विन शुक्ल नवमीका दिन कुमारी जात्राका साथ एकान्तकुमारी र गणकुमारीको पूजा गर्ने प्रचलनअनुरुप तलेजुमा पूजा गरिएको तलेजुको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

तलेजुको प्रतिमूर्तिका रूपमा पुजिने एकान्तकुमारी लुनिभा बज्राचार्यलाई तलेजुको आगमघरमा ल्याएर पूजा गरी जात्रा मनाइएको उहाँले जानकारी दिनुभयो । कुमारीको चतुब्रह्म महाविहारमा पूजा सकेर तलेजुमा विराजमान गराइएको थियो ।

आज ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बलि दिई तलेजु जात्रा मनाइएको छ । मूल पुरोहितले तलेजुमा मांसाहुती दिने परम्परा छ । तलेजुलाई आज देवगृहबाट स्थानान्तरण गरी आगमघरमा विराजमान गराइसकेपछि जात्रा सम्पन्न हुन्छ । (रासस)

तपाईको प्रतिक्रिया