दोहा, १४ असोज : केही प्यालेस्टिनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा युद्ध अन्त्य गर्ने योजनालाई ‘प्रहसन’ भन्दै आलोचना गरे पनि सोमबार प्रमुख मुस्लिम राष्ट्रहरूले यसलाई समर्थन गरेका छन् ।
वासिङ्टनका युरोपेली सहयोगीहरूले समेत हमासलाई यो योजना स्वीकार गर्न आग्रह गरेका छन् । यस योजनालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पूर्ण समर्थन गर्दै, यदि हमासले मान्न अस्वीकार गरे थप विनाशको चेतावनी दिनुभएको छ ।
आठ मुस्लिम वा अरब बहुल राष्ट्रले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामी अमेरिकी राष्ट्रपतिको भूमिका र गाजा युद्ध अन्त्य गर्ने उहाँको निष्कपट प्रयासलाई स्वागत गर्दछौँ ।”
विज्ञप्तिमा हस्ताक्षर गर्ने राष्ट्रहरूमा इजिप्ट, जोर्डन, संयुक्त अरब इमिरेट्स, टर्की, कतार, साउदी अरेबिया, इन्डोनेसिया र पाकिस्तान समावेश छन् ।
कतारले यसअघि मध्यस्थको भूमिका खेलिरहेको छ भने साउदी अरेबियासँगको सम्भावित सामान्यीकरण ट्रम्प र नेतान्याहुको प्रमुख लक्ष्य बनेको छ ।
इन्डोनेसियाले भविष्यको गाजा शान्ति बलमा सेना पठाउने प्रस्ताव गरेको छ भने पाकिस्तानले वासिङ्टनसँग सम्बन्ध सुधार गर्न यस अवसरलाई उपयोग गर्न चाहेको देखिन्छ ।
पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफले एक्समा पोस्ट गर्दै ‘राष्ट्रपति ट्रम्पलाई आवश्यक सहयोग गर्न पूर्ण रूपमा तयार’ भएको उल्लेख गर्नुभएको थियो, जसलाई ट्रम्पले स्वागत गर्नुभएको छ ।
नेतान्याहुले बेवास्ता गर्न खोजेको प्यालेस्टिनी प्राधिकरणले पनि ट्रम्पको ‘निष्कपट र दृढ प्रयास’ लाई समर्थन गर्ने घोषणा गरेको छ ।
हमासले भने योजना औपचारिक रूपमा नपाएको भन्दै प्रतिक्रिया रोकेको छ । गाजामा हमासको साथमा लडिरहेको इस्लामिक जिहादले यसलाई ‘प्यालेस्टिनी जनता विरुद्ध निरन्तर आक्रमणको परिकार’ भन्दै अस्वीकार गरेको छ ।
स्थानीय बासिन्दाहरूले पनि योजनाप्रति शङ्का व्यक्त गरेका छन् । ५२ वर्षीय अबु मजेन नासरले भन्नुभयो, “हामी जनताका रूपमा यो प्रहसन स्वीकार गर्दैनौँ ।”
युरोपेली समर्थन र सुझाव
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले गत हप्ता ट्रम्पलाई भेट्नुभयो र फ्रान्सले प्यालेस्टाइन राज्यलाई मान्यता दिएकोमा असहमति हुँदाहुँदै पनि अमेरिकाले फ्रान्सेली योजनाका तत्वहरू अपनाइरहेको बताउनुभयो ।
उहाँले ट्रम्पको ‘गाजा युद्ध अन्त्य गर्ने प्रतिबद्धता’ को प्रशंसा गर्नुभयो । म्याक्रोनले हमासलाई तुरुन्तै बन्धकहरू मुक्त गर्न र इजरायललाई योजनामा दृढतापूर्वक प्रतिबद्ध हुन आग्रह गर्नुभयो ।
बेलायती प्रधानमन्त्री किर स्टार्मरले ट्रम्पको प्रयासलाई ‘लडाइँ अन्त्य गर्ने, बन्धकहरू मुक्त गर्ने र गाजाका जनताका लागि तत्काल मानवीय सहयोग सुनिश्चित गर्ने’ महत्त्वपूर्ण कदम भन्दै समर्थन गर्नुभएको छ ।
यस योजनामा पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयरलाई समेत संलग्न गर्दै गाजामा सङ्क्रमणकालीन निकाय गठन गर्ने प्रस्ताव गरिएको छ । ब्लेयरले भन्नुभयो, “राष्ट्रपति ट्रम्पले प्रस्तुत गर्नुभएको यो योजना सहमत भए युद्ध अन्त्य गर्न, तत्काल राहत दिलाउन र उज्यालो भविष्य दिन सक्षम हुनेछ ।”
युरोपेली सङ्घ (इयु) का प्रमुख एन्टोनियो कोस्टाले गाजाको असहनीय अवस्थाको उल्लेख गर्दै सबै पक्षलाई ‘शान्तिलाई मौका दिन’ आग्रह गर्नुभयो ।
इटालीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले सबै पक्षलाई योजना स्वीकार गर्न आह्वान गर्नुभयो भने जर्मन विदेशमन्त्री जोहान वाडेफुलले यसलाई ‘गाजामा भयानक युद्ध अन्त्य गर्ने अनौठो अवसर’ भएको बताउनुभयो ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले ‘हामीले यति धेरै पीडाको अन्त्य गर्नुपर्छ’ भन्दै दुई–राज्य समाधान मात्र दीर्घकालीन शान्तिको बाटो भएको दोहो-याउनुभयो । (रासस\एएफपी)